प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित निर्वाचनको व्यवस्थापनमा भूमिका खेल्ने पाँच कार्यालयको मोटामोटी खर्च साढे ५ करोड रुपैयाँभन्दा बढी छ ।
सरकारको मुख्य प्राथमिकता परेको निर्वाचन कार्यक्रमलाई सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वलको सीमा सुरक्षा गुल्मबाट सरकारी बजेट खर्च भएको छ । नेपाली सेनाको दुर्गादल गुल्मबाट पनि सुरक्षा व्यवस्थापनमा बजेट खर्च गरिएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाको खर्च विवरणअनुसार सबैभन्दा बढी मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनमा ३ करोड २९ लाख २० हजार २ सय २७ रुपैयाँ १४ पैसा खर्च भएको छ । निर्वाचनमा भएको खर्चको विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयबाट उपलब्ध भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुचना पाटीमार्फत समेत खर्च विवरण सार्वजनिक भएको छैन ।
निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा २४ लाख ९० हजार रुपैयाँ प्रारम्भिक बजेट रहेकोमा ३ करोड ३३ लाख ७२ हजार ३ सय रुपैयाँ बजेट थप गरिएको थियो । निर्वाचनका लागि कुल ३ करोड ५८ लाख ६२ हजार ३ सय रुपैयाँ बजेट प्राप्त भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ३ करोड ३३ लाख ३१ हजार ५७ रुपैयाँ १४ पैसा बजेट निकासा गरिएको थियो । निकासा गरिएको बजेटमध्ये ४ लाख १० हजार ८ सय ३० रुपैयाँ बजेट खर्च हुन नसकेर कोलेनिकामा फिर्ता गरिएको लेखापाल कलश चौधरीले जानकारी दिनुभयो । मतदाता शिक्षालगायत निर्वाचन व्यवस्थापन र तयारीमा भूमिका निर्वाह गरेको जिल्ला निर्वाचन कार्यालयले ८० लाख ७० हजार ८ सय ६५ रुपैयाँ ९ पैसा खर्च गरेको छ । प्रारम्भिक बजेट ६ लाख ५० हजार रहेकोमा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयलाई ७५ लाख ६८ हजार २ सय ३६ रुपैयाँ थप बजेट प्राप्त भएको थियो । निर्वाचन कार्यालयमा जम्मा ८२ लाख १८ हजार २ सय ३६ रुपैयाँ बजेट रहेकोमा ८० लाख ७० हजार २ सय ६५ रुपैयाँ ९ पैसा बजेट निकासा गरिएको थियो । निकासा गरिएको सबै बजेट खर्च भइसकेको जिल्ला निर्वाचन कार्यालयले कोलेनिकालाई विवरण पेश गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापनको भूमिकामा रहेको जिल्ला प्रहरी कार्यालयले करिब १ करोड रुपैयाँ खर्च गरेको छ । म्यादी प्रहरी परिचालन र नेपाल प्रहरी परिचालनमा जिल्ला प्रहरी कार्यालयको बजेट खर्च भएको छ । जिप्रकाले निर्वाचन खर्चको शीर्षकगत विवरण सार्वजनिक गरेको छैन । निर्वाचन सुरक्षा व्यवस्थापनअन्तर्गत दोस्रो सुरक्षा घेरामा रहेको सशस्त्र प्रहरीले निर्वाचन प्रयोजनमा करिब ५० लाख खर्च गरेको छ । कोलेनिकाको विवरणअनुसार अन्य भाडा, भ्रमण खर्च र विविध खर्च शीर्षकमा सशस्त्र प्रहरीले निर्वाचन खर्च गरेको छ । समग्र सुरक्षा व्यवस्थापनको नेतृत्व गरेको जिल्ला प्रशासन कार्यालयबाट भने सबैभन्दा कम बजेट खर्च भएको छ । निर्वाचनमा मतपेटिका ढुवानीमा प्रशासन कार्यालयको बजेट खर्च भएको हो । प्रशासनलाई ८ लाख ४१ हजार ५ सय रुपैयाँ निर्वाचन प्रयोजनका लागि बजेट प्राप्त भएकोमा सबै बजेट खर्च भएको कोलेनिका दार्चुलाले जनाएको छ । निर्वाचनमा सरकारी बजेट खर्च गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुले खर्च विवरण भने सार्वजनिक गरेका छैनन् । राज्यको ढुकुटी खर्च गरेका निकायहरुले आफ्नो सुचना पाटीमा खर्चको विवरण गरेर पारदर्शीता अपनाउनुपर्ने मिडिया विकास समाज नेपालका कार्यकारी निर्देशक शंकरसिह धामीले बताउनुभयो ।
निर्वाचन खर्चको विवरण सुचना पाटीमार्फत सार्वजनिक गर्न आग्रह गरेको बताउदै पत्रकार महासंघ दार्चुलाका अध्यक्ष समेत रहनुभएका धामीले बताउनुभयो । कुन शीर्षक र क्रियाकलापमा कति बजेट खर्च भयो भन्ने स्पष्ट विवरण सार्वजनिक गर्न उहाँले सम्बन्धित निकायहरुसंग आग्रह गर्नुभएको छ ।