चमेलियाबाट दैनिक ६ घण्टा विद्युत उत्पादन गरिदै,, चमेलियाको उद्घाटन भयो तर हस्तान्तरण बाँकी।।

नयाँ नेपाल समाचार दार्चुला ,,

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा निर्माण गरिएको चमेलिया जलविद्युत आयोजनाले दैनिक ६ घण्टा विद्युत उत्पादन गरिरहेको छ ।

माघ २७ गते तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेको दिनदेखि आयोजनाबाट नियमित विद्युत उत्पादन भइरहेको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो । विहान ६ देखि ९ बजेसम्म र बेलुकी ६ देखि ९ बजेसम्म गरी दैनिक ६ घण्टा विद्युत उत्पादन भइरहेको दाहालले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको भार प्रेषण केन्द्रको प्रत्यक्ष निगरानीमा विद्युत उत्पादन कार्य भइरहेको छ । विद्युतको माग बढेको समयमा चमेलियामा विद्युत उत्पादन भइरहेको छ । विहान र बेलुकाको समयमा बढी विद्युत खपत हुने भएकाले विहान र बेलुका ३÷३ घण्टा उत्पादन भइरहेको छ । १५÷१५ मेगावाटका दुइटा टर्वाइनबाट दैनिक २५ देखि ३० मेगावाट विद्युत उत्पादन भइरहेको आयोजना प्रमुख दाहालको भनाई छ ।

अहिले चमेलिया नदीको पूरै पानी जम्मा गरेर विद्युत उत्पादन भइरहेको छ । विद्युत उत्पादन हुने समयबाहेक अन्य समय नदीमा पानी छोडिएको छैन । बिटुलेस्थित बाँधस्थलमा पानी जम्मा गरी आवश्यक परेको बेला विद्युत उत्पादन भइरहेको छ । सुख्खायाम भएकाले नदीमा पानीको सतह निकै कम छ । चमेलियामा अहिले बगिरहेको पानीबाट बढीमा ६–७ मेगावाट मात्र विद्युत उत्पादन हुन सक्छ । तर नदीको पानी बाँधस्थलमा जम्मा गरी आवश्यक भएको बेला पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

चमेलियाको उद्घाटन भयो तर हस्तान्तरण बाँकी

सात नम्बर प्रदेशमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजना चमेलियाको एक महिनाअघि औपचारिक उद्घाटन गरिएको छ । तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले माघ २७ गते उद्घाटन गर्नुभएको चमेलियाले व्यवासायिक विद्युत उत्पादन पनि थालिसकेको छ । तर जलविद्युत आयोजना निर्माणमा संलग्न चीनिया र कोरियाली कम्पनीले आयोजना हस्तान्तरण गर्न बाँकी छ । आयोजनामा सिभिल निर्माणमा संलग्न चीनको सिजिजिसी कम्पनी र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यमा संलग्न कोरियाको केएनएचपी कम्पनीले हस्तान्तरण गर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्व रहेको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि दुबै कम्पनीले हस्तान्तरण गर्नुपर्ने प्रावधान छ । आधारभूत कार्यहरु सकिएपछि तत्काल विद्युत उत्पादन सुरु गरिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो । केही कागजी प्रक्रिया र सामान्य कार्य मात्र पूरा हुन बाँकी भएकाले तत्काल औपचारिक उद्घाटन समेत गरिएको उहाँको भनाई छ । अहिले आयोजनास्थल बलाँचमा रहेको पावरहाउस अगाडिको आगन कंक्रिट गर्ने कार्य भइरहेको छ । सिभिलतर्फको यो कार्य चीनिया कम्पनीको जिम्मामा छ । यसैगरी पावरहाउसभित्रै इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल कार्यको पनि फिनिसिङ भइरहेको छ । पावरहाउस अपरेट गर्नका लागि नयाँ जनशक्तिलाई सिकाउने कार्य समेत भइरहेको आयोजना दाहालले बताउनुभयो ।

आयोजनाको निर्माणमा संलग्न दुबै कम्पनीहरुले निर्माण कार्य सम्पन्न भएपछि सम्पूर्ण कार्यको प्रगति विवरण प्राधिकरणलाई बुझाउनुपर्ने उहाँको भनाई छ । सबै उपकरण प्रयोगको अवस्थासहितको विवरण प्राधिकरणलाई बुझाएसंगै हस्तान्तरण कार्य सम्पन्न हुनेछ । आयोजना निर्माणमा संलग्न कोरियाली कम्पनी केएनएचपीसंगको सम्झौताअनुसार हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यमा आयोजना हस्तान्तरण भएपछि एक वर्षसम्मको अवधिमा कुनै समस्या आए कम्पनी जिम्मेवार हुन्छ । एक वर्षको डिफेक्ट लायविलिटी पिरियड अर्थात डिएलपी हुने भएकाले यसको गणना हस्तान्तरण भएको दिनदेखि हुने आयोजन प्रमुख अजयकुमार दाहालको भनाई छ । आयोजनामा संलग्न कोरियाली कम्पनीले प्राधिकरणलाई हस्तान्तरण गर्न अझै एकदेखि डेढ महिनासम्म लाग्ने उहाँले बताउनुभयो । सिभिल निर्माणमा संलग्न चीनिया कम्पनीले पनि केही हप्ताभित्रै आफ्नो कार्य पूरा गर्दैछ ।

देउवालाई उद्घाटनको हतारो

तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलियाको उद्घाटन गर्ने अवसर पाएका छन् । गृहक्षेत्र रहेको सात नम्बर प्रदेशमा निर्माण सम्पन्न भएको चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्ने अवसरलाई देउवाले आफ्नो कार्यकालको अन्तिम समयमा उपयोग गरे । चमेलियाको उद्घाटनमा सम्बोधन गर्दै देउवाले चमेलियाको सुरुवाती पनि आफैले गरेको बताएका थिए । नेपालमा आयोजनाको सुरुवाती गर्ने र निर्माण सम्पन्न भएपछि उद्घाटन गर्ने एउटै व्यक्ति आफु भएको दावी समेत देउवाले उद्घाटन कार्यक्रममा गर्नुभएको थियो । देउवा नेतृत्वको सरकारको आयु सकिन लागेकाले तत्काल उद्घाटन कार्यक्रम आयोजना गर्न राजनीतिक वृतबाट नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनलाई दबाव आएको बुझाइ धेरैको छ । यद्यपि चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजयकुमार दाहाल आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न भइसकेको र व्यवसायिक उत्पादन सुरु भएकाले तत्काल उदघाटन गरिएको बताउनुहुन्छ । मुलुकमा भइरहेको ऊर्जाको मागलाई सम्बोधन गर्न पनि आयोजना उद्घाटन गरी तत्काल विद्युत उत्पादन थालिएको आयोजना प्रमुख दाहालको भनाई छ । आयोजनाका कतिपय निर्माण कार्य पूरा नहुँदै हतारोमा उद्घाटन गरिएको स्थानीयवासीको समेत भनाई छ । अहिले पनि आयोजनास्थलमा निर्माण कार्य भइरहेको नेकपा माओवादी केन्द्रका नेता एवं चमेलिया आयोजनास्थल बलाँचका स्थानीयवासी लालवहादुर विश्वकर्माले बताउनुभयो । चमेलियाको उद्घाटन गरी राजनीतिक फाइदा लिन र आयोजना निर्माणको श्रेय लिन देउवाले हतार हतारमा उद्घाटन गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतवहादुर खडायतको भनाई छ । चमेलियाको उद्घाटनका लागि हतार गर्नु राजनीतिक फाइदा लिने र आफुले उद्घाटन गरेको भनेर नाम लेखाउने काम मात्रै भएको नेकपा एमालेका नेता गंगादत्त जोशी बताउनुहुन्छ । चमेलिया उद्घाटनको एक हप्तापछि नयाँ सरकार आएकोले नयाँ सरकारका प्रधानमन्त्रीबाट आयोजनाको उद्घाटन गर्नुपर्ने उहाँको भनाई छ । पाँच वर्ष स्थायी सरकार हाँक्ने नेतृत्वले चमेलियाको उद्घाटन गरेको भए स्थानीयका माग पनि तत्काल र प्रभावकारी ढंगले सम्बोधन हुनसक्ने जोशीको भनाई छ ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली