महाकाली नदी किनारमा बन्दै नमुना तटबन्ध ,३ अर्बभन्दा बढी प्रक्षेपण डेढ अर्बबढी खर्च

नयाँ नेपाल समाचार , दार्चुला 
२०७० साउन १ गतेदेखि ३ गतेसम्म महाकाली नदीले सदरमुकाम खलंगा लगायत नदी किनारका बस्तिहरुलाई लगातार कटान गर्यो । दर्जनौं घरहरु र जग्गा जमिन महाकालीले बगाएर लग्यो । त्यसको एक वर्षसम्म पनि महाकाली नदी किनारमा तटबन्ध निर्माणको कामले खासै गति नलिदाँ सदरमुकामबासी र नदी किनारका बासिन्दाहरु त्रास मै बस्न बाध्य भए तर अहिल परिस्थिति बदलिएको छ । सदरमुकाम खलंगालाई बचाउन महाकाली नदी किनारमा देश कै नमुना तटबन्ध निर्माणको क्रममा छ । निर्माण सुरु भएको साढे चार वर्षभन्दा बढीसमयमा तटबन्ध निर्माण कार्यले ६८ प्रतिशत भौतिक प्रगति गरेको महाकाली नदी नियन्त्रण आयोजना कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
महाकाली नदी किनारमा तटबन्ध राख्न १७ प्याकेजमा एक दर्जन निर्माण व्यवसायी कम्पनीहरुले जिम्मेवारी लिएका छन् । १७ प्याकेजमध्ये प्याकेज नम्बर १४ र १५ बाहेक अरु प्याकेजले सदरमुकामको ४ दशमलब ५५ किलोमिटर लम्बाइ ओगटेको छ । काउण्टर फोर्डवाल प्रविधिबाट निर्माण हुन लागेको तटबन्ध निर्माण कार्यलाई अवलोकन गर्न भारतीय ईन्जिनियरहरुको टोली समेत तटबन्ध निर्माण स्थलसम्म आउने गरेको छ । भारतीय पक्षको भन्दा हाम्रोतिर बलियो र गुणात्मक प्रवृत्तिको तटबन्ध निर्माण हुन लागेकोले ईन्जिनियरहरुले चाँसो देखाएको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख ईन्जिनियर सुशिलचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
देशका विभिन्न ठाउँमा विभिन्न नदीहरुले वर्षेनी नदी किनारका बस्तिहरु बगाउने र ती बस्तिहरु बाढीबाट प्रभावित हुने भएपनि अरु नदी किनारमा दार्चुलाको जति बलियो संरचना बन्न नसकेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम बताउँछन् । ‘तटबन्ध निर्माणका काम अन्यतिर पनि छन् तर यताको जति बलियो अन्यत्र बन्न सकेको छैनन् ।’ प्रजिअ गौतमले भन्नुभयो ।
३ अर्बभन्दा बढी प्रक्षेपण डेढ अर्बबढी खर्च
महाकाली नदी किनारमा तटबन्ध निर्माण गर्न बनेको पञ्चवर्षिय गुरु योजना (२०७०÷०७१ देखि २०७४÷०७५)को कूल लागत ३ अर्ब ५ करोड ५७ लाख रुपैयाँ प्रक्षेपण गरिएको छ । उक्त रकमलाई पहिलो चरणमा १ अर्ब ५९ करोड निकासा गर्ने र बाँकी रकम दोस्रो चरणमा निकासा गर्ने योजना छ । अहिले पहिलो चरणमा निकासा भएको रकमले तटबन्ध निर्माण कार्य हुँदै छ । विभिन्न कारणले तोकिएको समयमा तटबन्ध निर्माण सम्पन्न हुने स्थिति नआएपछि निर्माण कार्यका लागि ३ वर्ष थप्ने प्रक्रिया अगाडि बढाइएको आयोजना कार्यालयले जानकारी दिएको छ ।
आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत हुँदा बित्तीय प्रगति भने ५० प्रतिशत मात्रै पुगेको छ । जिल्लामा सबैभन्दा द्रुत गतिमा निर्माण भई रहेको भौतिक निर्माणमध्ये सबैभन्दा अगाडि पर्ने तटबन्ध निर्माणको काम तालिका अनुसार नै हुन नसकेपनि अपेक्षि रुपमा भई रहेको कार्यालय प्रमुख देबकोटाको भनाई छ । अहिलेसम्म साधारणतर्फ २ करोड ९७ लाख ४९ हजार १ सय ७७ र पूँजिगततर्फ १ अर्ब ४८ करोड ४४ लाख ७३ हजार ८ सय ४६ रुपैयाँ खर्च भएको यो योजनाको प्याकेज नम्बर १ देखि ६ र ९ तथा १२ नम्बर प्याकेज निर्माण सम्पन्न हुने अन्तिम चरणमा छन् भने प्याकेज नम्बर ७, ८, १०, ११, १३, १४ रु १५ निर्माणाधीन र प्याकेज नम्बर १६ र १७ को ठेक्का प्रक्रिया हालै अगाडि बढाइएको छ ।
सुरुको वर्ष तटबन्ध निर्माणको कार्यले देखिने गरि काम गर्न नसकेको भएपनि ठेक्का लगाउने, जग खन्ने काम सुरु भई सकेको थियो । उक्त आर्थिक वर्ष (२०७०÷०७१) मा पूँजिगततर्फ २० करोड ९४ लाख ७१ हजार रुपैयाँ खर्च भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७१÷०७२ मा २० करोड ४६ लाख ३८ हजार ६ सय ४०, आर्थिक वर्ष २०७२÷०७३ मा ४२ करोड ७७ लाख ९० हजार ४ सय १४ र आर्थिक वर्ष २०७३÷०७४ मा ४५ करोड ६५ लाख १२ हजार १ स्य ३२ रुपैयाँ खर्च भएको छ । यो आर्थिक वर्षको ९ महिनामा २१ करोड ५८ लाख १० हजार ८ सय ३७ रुपैयाँ खर्च भई सकेको कार्यालय प्रमुख ईन्जिनियर देबोटाले जानकारी दिनुभयो ।
ढुक्क हुँदै स्थानीय, जग्गा कहिल्यै नपाइने 
महाकाली नदी किनारमा बलियो तटबन्ध निर्माण हुन थालेपछि नदी किनारमा बस्ति भएका स्थानीयहरु अब नदीले क्षति नगर्ने भन्दै ढुक्क हुन थालेका छन् । तटबन्ध बनिसक्यो भने ढुक्कसँग निदाउन सकिने स्थिति आएको बताउँदै सदरमुकामको बांगाबगड क्षेत्रमा घर भएका कृष्णसिह ठगुन्ना भन्छन् ‘बगाएर लैजाला भन्ने डर अब रहेन ।’
महाकालीमा ७० साल जतिकै ठूलो बाढी आएपनि सदरमुकाम सुरक्षित भएको स्थानीयले बताएपनि महाकाली नदीले बगाएर नदी बनेको, पारीतिर पुगेको र तटबन्ध बनेको जग्गा भने स्थानीयले पाउने देखिदैन । जग्गाको लालपूर्जा घर मै भएपनि जग्गा नदी मै रहेको र नदीभन्दा वर (नेपालतिर) तटबन्ध बनि सकेकाले जग्गा पाउने अवस्था नै नरहेको चार तले पक्की घरसहित जग्गा महाकालीले बगाएका स्थानीय बिशनसिह ठगुन्ना बताउँछन् ।
जग्गा नदीमा परेका वा नदी पारी (भारततिर) पुगेका स्थानीयले त जग्गाको आश मारिसकेका छन् तटबन्ध निर्माण क्षेत्रमै जग्गा परेका स्थानीयलाई पनि जग्गा पाउने वा जग्गाको क्षतिपूर्ति पाउनेमा आशा छैन । नेपाल सरकारले जग्गाको लगत कट्टि गर्ने वा क्षतिपूर्ति दिने भन्ने वारे कुनै निर्णय नगर्दा आफूहरु समस्या परेको गल्फैमा रहेको घर जग्गा कटानमा परेका स्थानीय चन्द्रसिह धामी बताउँछन् । ‘जग्गा तटबन्ध निर्माण क्षेत्रमा पर्छ तर कसरी आफ्नो भन्ने ? न सरकारले के हुन्छ भनेर तोकेको छ न तटबन्ध निर्माण गर्ने पक्षले केही भनेको । आफ्नै जग्गा बगेको र जग्गामा तटबन्ध बन्दै गरेको टुलुटुलु हेर्नुको कुनै बिकल्प छैन ।’ धामी भन्छन् ।
आफूहरुले निर्वाचित भई सकेपछि बाढी पीडितलाई परिचय पत्र दिएर पीडितहरुको वर्गीकरण गर्न सुरु गरेको बताउँदै सदरमुकाम रहेको महाकाली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष पुष्करराज जोशी राज्यले नै नदी पारीको, नदीमा परेको र तटबन्धमा परेको जग्गाको के गर्ने भन्ने निर्णय गर्न नसकेपछि आफ्ना तर्फबाट कुरा उठाने काम मात्रै बाँकी रहेको बताउँछन् ।

त्रासको त्यान्द्रो बाँकी छ
महाकाली नदी किनारमा बलियो र उचो (७ दशमलब ५ देखि १० मिटरसम्म) तटबन्ध निर्माण कार्य सम्पन्न हुने चरणमा भएकाले ढुक्क हुने अवस्था आएपनि सदरमुकामबासीमा त्रासको अन्त्य भने भएको छैन । ‘अहिले एउटै कुराको त्रास छ खोतिलको पहिरोले महाकाली नदी थुन्ने र तटबन्ध माथिबाटै महाकाली सदरमुकाममा पस्ने ।’ स्थानीय ईन्द्रसिह ठगुन्ना भन्छन् ।
हो, अहिले सदरमुकाममा बाढी पस्न सक्ने त्रासको एउटा मात्रै कारण बनेको छ, भारततिरको पहिरो । भारतको सिमावर्ती क्षेत्रमा महाकाली नदीमा पर्ने गरी खोतिलमा दुई वर्ष अगाडि गएको पहिरो अहिले सदरमुकामबासीको त्रासको विषय बनेको छ । खोतिल पहिरोले जोखिम निम्त्याउन सक्नेतिर सचेत र गम्भीर भएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी पहिरो हटाउने विषयमा भारतीय पक्षसँग समन्वय भईरहेको बताउँछन् । भारतीय रबैया हेर्दा भने उनीहरुले चाँडै पहिरो हटाउँछन् भन्ने कुरामा आयोजनाका प्रमुख ईन्जिनियर सुशिलचन्द्र देवकोटा भने ढुक्क छैनन् । हामी दुई वर्षदेखि लगातार भातरीय पक्षसँग पहिरो हटाउन माग गर्दैर्छौं तर उसले केही पनि काम गरेको छैन । प्रमुख देबकोटा भन्छन् । पछिल्लो पटक पनि सिमा अधिकारीहरुको बैठकमा कुरा उठ्यो, त्यसलगत्तै दुबै देशका ईन्जिनियर र अधिकारीहरुले पहिरो क्षेत्र मै गएर पहिरो हटाउने कुरा भयो । अघिल्लो हप्ता दुई दिनपछि जानकारी गराउने प्रतिबद्धता भारतीय पक्षबाट आयो तर जानकारी गराउने दुई दिन अहिलेसम्म आएको छैन । ‘उनीहरुलाई पहिरोबाट खतरा छैन, खतरा हामीलाई हो, उनीहरुले ध्यानै दिएका छैनन् ।’ प्रमुख ईन्जिनियर देबकोटाले भने ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली