समितिका गाडी नचलेपछि नागरिक ट्याक्टरमा, प्रशासन व्यावसायीको खोजिमा ।।

नयाँ नेपाल समाचार । बैशाख २१ दार्चुला ।

सिन्डिकेट पक्षधारी व्यवसायीले गरेको आन्दोलनका कारण दार्चुलामा पनि शुक्रबार दिनभरी गाडीहरु चल्न सकेका छैनन् । दार्चुलाबाट छुट्ने भित्रिने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न नसक्दा नागरिकहरुको जनजीवन कष्टकर बनेको छ । यातायात व्यवसायीहरुले यातायात बन्दको घोषणा गरेपछि दार्चुलाबाट अन्यत्र जाने र अन्यत्रबाट दार्चुला आउने कुनै पनि सवारी साधान सञ्चालनमा आएका छैनन् ।
यातायातका साधनहरु नहुँदा नागरिकहरुले सास्ती त खेप्नु परेको छ तर केही दिनका लागि त हो भन्दै नागरिकमा निराशा भने देखिएको छैन । यातायात बन्दको जानकारी पाएकाले बस काउन्टरहरुमा यात्रुहरु समेत सम्पर्कमा नआएको यातायात व्यवसायीहरुले बताएका छन् । लामो तथा छोटो दुरी सवारी साधन नचलेपछि नागरिकहरुले मोटर साइकल र ट्याक्टरमा समेत आवत जावत गरेका छन् । 
कुनै समिति दर्ता छैन
यातायात सम्बन्धी काम गर्ने कुनै पनि समिति जिल्ला प्रशासन कार्यालय दार्चुलामा दर्ता नभएको जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ ।
गृह मन्त्रालयले यातायात व्यवसायीहरुलाई नियन्त्रणमा लिन पत्राचार गरेपनि जिल्ला प्रशासनका कुनै पनि यातायात व्यवसायी दर्ता भएकाले काउन्टरवालाहरुसँग छलफल गर्ने जमर्को गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभएको छ । ‘गृह मन्त्रालयको पत्राचारपछि प्रहरीसँग समन्वय गरेर काउन्टरवालाहरुसँग छलफल गर्ने प्रयासमा छौं ।’ सहायक प्रजिअ जोशीले भन्नुभयो । प्रहरी लगाएर यातायात व्यवसायीहरुका प्रतिनिधिहरुलाई खोजेर छलफल गरिने उहाँको भनाई छ ।
गृह मन्त्रालयको पत्राचारपछि यातायात व्यावसायीहरुसँग सम्पर्क गर्न खोजिएको भएपनि यातायात व्यवसायीहरु सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिनुभएको छ । ‘जिल्लामा समिति दर्ता छैन, काउन्टरवालाहरुसँग छलफल गर्न खोजेका हौं तर कोही पनि भेटिएका छैनन् ।’ डिएसपी शाहीले भने ।
नागरिक ट्याक्टरमा
यातायात व्यवसायीहरुले यातायात बन्द गरेपछि नागरिकको सहज रुपमा यात्रा गर्ने चाहाना पूरा नभएपनि नागरिकहरु यात्रा गर्नैबाट भने बञ्चित भएका छैनन् ।
दार्चुला सदरमुकाम वरपर यात्रा गर्नेहरुले मोटर साइकलमा लिफ्ट मागेर यात्रा गरेका छन् भने टाढा जानेहरुले ट्याक्टरको प्रयोग गरेका छन् । यार्सा संकलनका लागि लेकतिर जाने स्थानीय ट्याक्टर चढेर मार्मा गाउँपाकिलाको सदरमुकाम लटिनाथ पुगेका छन् । कोही गोकुलेश्वर बाट कोही गन्नाबाट ट्याक्टरमा लटिनाथ पुगेको स्थानीय केशव बिष्ट बताउँछन् ।
जिपहरु सञ्चालनमा नआएपछि खलंगा–काँटै सडकमा पनि यात्रुहरुले ट्याक्टरमा यात्रा गरेका छन् । दुइपटक सम्म ट्याक्टरले यात्रु ओसारेको महाकाली नगरपालिका वडा नम्बर ३ काँटैका धनसिह भण्डारी बताउँछन् ।
देशलाई राजश्व सुन्य !  
जिल्लामा महाकाली लोकमार्ग सहित गोकुलश्वर–पारिबगड, खलंगा–दल्लेक–धुलिगडा–देथला, खार–सिप्टी, खलंगा–हिकिला क्षेत्रमा दैनिक दर्जनौं सवारी साधानहरु चल्ने गर्दछन् ।
महाकाली यातायातका मात्रै पाँच दर्जन जति जिपहरु यी सडकमा गुड्न गर्दछन् भने दुई जदर्जन बसहरु दार्चुलाबाट अन्त्रय सेवा दिइरहेका छन् । त्यसैगरी सुदूरपश्चिम र पवनदुत यातायात व्यवसायीहरुका पनि आधा दर्जन बसहरुले यातायात सेवा दिने गर्दछन् ।
साना ठूला गरेर एक सय यातायातका साधनहरु सञ्चालनमा आएने भएपनि न कुनै समिति आधिकारिक रुपमा दर्ता छ न सरकारलाई यातायात बाफतको राजश्व नै जान्छ । ट्राफिक र अन्य प्रहरी कारवाहीमा उठेको रकम बाहेक दार्चुलाका यातायात व्यवसायीहरुले सरकारलाई प्रत्यक्ष कर बुझाउँदैनन् । केन्द्रीय कार्यालयबाट नै कागजि कारवाही हुने भएकाले दार्चुलाबाट कर नतिर्ने यातायात व्यवसायीहरु बताउँछन् । सवारी धनीहरुले भने यातायात व्यवसायीको कार्यालयमा सवारी दर्ता र रुट परमिटका लागि ठूलो धनराशी बुझाउने गरेका छन् । 
साना गाडिलाई समितिमा दर्ता गराउन नै साढे ३ लाख रुपैयाँ लाग्ने गाडिधनिहरु बताउँछन् । चार महिनाको रोड परमिटबाफत ७ सय र ६ महिनाको जाँचपास बाफत ३ सय रुपैयाँ लिने गरेको एक गाडिधनिले बताएका छन् । बसहरुका लागि भने यो रकम झनै दोब्बर हुने गरेको गाडिधनिहरु बताउँछन् । यसरी गाडिधनिहरुबाट लाखौ रुपैयाँ तथा यात्रुबाट भाडासमेत उठाउने यातायात व्यवसायीहरुले सरकारलाई भने यसबाफत कुनै पनि राजश्व बुझाउने गरेका छैनन् ।