अपी नम्पा सरंक्षण क्षेत्रमा नेपाली सेना राख्न माग

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाको अपी नम्पा संरक्षण क्षेत्रको सुरक्षाको लागि नेपाली सेनाको टोली राख्न माग गरिएको छ । जिल्ला स्तरीय वन्यजन्तु अपराध इकाइले अपी नम्पा संरक्षण क्षेत्रमा नेपाली सेनाको टोली राख्न माग गरेको अपी नम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचाना अधिकारी पेम्पा शेर्पाले जानकारी दिनुभयो ।

साविकका २१ गाविस समेटेर बनाइएको अपी नम्पा संरक्षण क्षेत्रको जैविक विधिताको संरक्षण र क्षेत्रको समग्र सुरक्षाका लागि नेपाली सेनाको एक युनिट संरक्षण क्षेत्रमा राख्न नेपाल सरकार समक्ष माग गर्ने निर्णय भएको छ । तत्काल जिल्ला सुरक्षा समितिसंग पारित गराएर तत्काल नेपाल सरकार समक्ष माग गरिने सहायक संरक्षण अधिकृत शेर्पाको भनाई छ ।

भारत र चीनसँग सिमा जोडिएको अपि नाम्पा संरक्षण क्षेत्र जैविक विधिता र अन्य हिसाबले समेत संवेदनशील भएकाले जिल्ला स्तरीय वन्यजन्तु अपराध इकाइले सेनाको उपस्थिति अनिवार्य भएको भन्दै नेपाल सरकार समक्ष यस्तो माग गर्ने निर्णय भएको हो । विशेष गरी संरक्षण क्षेत्रकै सुरक्षाको साथै त्रीदेशिय सीमा क्षेत्र तथा तिंकर नाकामा हुने विभिन्न अपराधिक क्रियाकलापहरु, आखेटोपहार, चोरी तस्करी जस्ता क्रियाकलापहरुमा न्युनीकरण गर्ने उद्देश्यले नेपाली सेनाक राख्न माग गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्की, जिल्ला न्यायाधीश प्रकाश कुमार काफ्ले र प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसहित जिल्ला स्थित सरोकारवाला सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका अधिकारीहरुको बैठकले संरक्षण क्षेत्रमा नेपाली सेनाको युनिट राख्ने निर्णय गरेको हो ।

जिल्ला स्तरीय वन्यजन्तु अपराध इकाइले पछिल्लो पटक संरक्षण क्षेत्रमा सुरक्षामा गम्भीर चाँसो देखाएको छ । संरक्षण क्षेत्रमा अहिले यार्सागुम्बा संकलकहरुको चलहपहल बढेको र सोही अवसरको आडमा संरक्षण क्षेत्रभित्र चोरी तस्करी, अबैध कारोवार जस्ता अवाञ्छित क्रियाकलापहरु हुन सक्ने भन्दै अपराध इकाइले सुरक्षा चाँसो देखाएको हो ।

इकाइले आफ्नो १८ औं बैठकमा पाटन क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गर्नेदेखि लिएर त्रिदेशी नाका र अन्य व्यापारिक नाकाहरुमा निगरानी बनाउने विषयमा समेत छलफल गरिएको थियो ।