यार्सा संकलनमा ‘सिण्डिकेट’, नागरिकता नभएकालाई समेत संकलन अनुमति दिन माग

नयाँ नेपाल समाचार, दार्चुला ।
यातायात, खाद्यान्न जस्ता आधारभूत सेवा र वस्तुमा सिण्डिकेटको चर्चा चलिरहेका बेला दार्चुलाका हिमाली क्षेत्रमा संकलन गरिने यार्सागुम्बामा पनि ‘सिण्डिकेट’ चलिरहेको छ । हरेक वर्ष वैशाखदेखि असारसम्म उच्च हिमाली क्षेत्रमा संकलन गरिने यार्सागुम्बामा स्थानीयवासीले ‘सिण्डिकेट’  लगाउदैआएका छन् । 
यार्सागुम्बा संकलनमा निश्चित क्षेत्रका वासिन्दालाई मात्रै अनुमति दिइदैआएको छ । व्यास गाँउपालिकाको वडा नम्बर १ मा रहेको अपि हिमालको क्षेत्र र वडा नम्बर २ राप्लाको दुधिवन क्षेत्रमा स्थानीयवासीलाई मात्रै यार्सागुम्बा संकलन गर्न दिइन्छ । सम्बन्धित वडाभन्दा बाहिरका नागरिकले उक्त क्षेत्रमा यार्सागुम्बा संकलन गर्न पाउदैनन् । 
व्यास गाँउपालिकाको वडा नम्बर १ अर्थात साविकको व्यास गाविसका वासिन्दाहरु अपि हिमालको पश्चिमी क्षेत्रमा यार्सागुम्बा संकलन गर्दछन् । उक्त क्षेत्रमा व्यासमा बसोबास गर्दैआएको व्यासी सौका समुदाय मात्रै जान पाउछन् । सामाजिक—सांस्कृतिक सम्बन्ध भएकाले व्यासको छाङरुसंग जोडिएको भारतीय वस्ती गव्र्याङ र गव्र्याङभन्दा १० किलोमिटर तल रहेको बुँदी गाँउका भारतीय नागरिक पनि नेपालको अपि हिमाल क्षेत्रमा यार्सा संकलन गर्दछन् । 
हाल भारतमा बसोबास भए पनि परम्परागत रुपमा उपभोग हुँदैआएको वनक्षेत्र भएकाले भारतीय नागरिकले पनि अपि हिमाल क्षेत्रमा यार्सा संकलन गर्दैआएका छन् । स्थानीयवासी र व्यासी समुदायका नागरिकले मात्रै यार्सा संकलन गर्न पाउने नियम स्थानीयवासी आफैले बनाएका हुन् । व्यास गाँउपालिका वडा नम्बर १ को जनसंख्या करिब ७ सय मात्रै छ ।
व्यास गाँउपालिकाको वडा नम्बर २ राप्लाको दुधिवन क्षेत्रमा पनि वडा नम्बर २ का वासिन्दाले मात्रै यार्सा संकलन गर्न पाउने व्यवस्था गरिएको छ । धेरै वर्षदेखि स्थानीयवासीको सामाजिक निर्णयले यस्तो हुँदैआएको व्यास गाँउपालिकाका प्रवक्ता धिरनसिह बुढाथोकीले बताउनुभयो । 
स्थानीयस्तरमा प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोगमा स्थानीयावासीकै अग्राधिकार भएको राप्लाको दुम्लिङका वासिन्दा जीवनसिह बुढाथोकीको भनाई छ । व्यास गाँउपालिकाको वडा नम्बर २ अर्थात साविकको राप्ला गाविसभरीका स्थानीयले मात्रै दुधिवनमा यार्सा संकलन गर्दछन् । वडाभरी २ सय ६० घरधुरी छन् । सबै घरधुरीका वासिन्दाले यार्सा संकलन गर्दैआएको वडाअध्यक्ष एवं गाँउपालिकाका प्रवक्ता धिरनसिह बुढाथोकीले बताउनुभयो । 
वडाबाहिरका मान्छेको घुसपैठ रोक्नका लागि केही कडा नियम पनि बनाइएका छन् । वडा नम्बर २ राप्लामा बसाइसराई गरी आएका नयाँ परिवारलाई पाँच वर्षसम्म दुधिवन क्षेत्रमा यार्सा संकलन गर्न रोक छ । बसाईसराई भएको ५ वर्षपछि मात्रै स्थानीयवासी जस्तै ती परिवारले दुधिवनमा यार्सा टिप्न पाउने स्थानीय जीवनसिह बुढाथोकीले बताउनुभयो । 
दुधिवन क्षेत्रमा ५÷६ सय स्थानीय यार्सा संकलनका लागि जान्छन् । ‘एउटै घरबाट धेरै जना पनि जान मिल्छ तर वडाबाहिरको जान पाउदैन’ राप्ला दुम्लिङका स्थानीय धिरेन्द्रसिह महराले भन्नुभयो । 
एउटा वनक्षेत्रमा मात्रै स्थानीयवासीले अरुलाई जान रोक लगाएको स्थानीयको भनाई छ । राप्लामै पर्ने स्याङपा, हुमदुङती, तिलछउडे, कलगडे, वाइलेक, नान्था, सिपु लगायतका क्षेत्रमा अन्य वडाका वासिन्दाले यार्सा संकलन गर्ने गरेको वडाअध्यक्ष धिरनसिह बुढाथोकी बताउनुहुन्छ । 
‘प्राकृतिक स्रोतसाधनको परम्परागत उपयोग, भोगचलन र बसोबासका कारण एउटा वनक्षेत्रमा मात्रै स्थानीयवासीले अरुलाई रोकेका हुन्’ व्यास गाँउपालिकाका प्रवक्ता समेत रहनुभएका बुढाथोकीले भन्नुभयो । व्यास गाँउपालिका र दुहुँ गाँउपालिका लगायत अन्य क्षेत्रका वासिन्दालाई दुधिवन र अपि हिमालको वनबाहेका अन्य सबै क्षेत्रमा यार्सा संकलनका लागि खुला रहेको उहाँले बताउनुभयो । 
यार्सागुम्बा संकलनमा कसैलाई पनि रोक्न नमिल्ने तर संरक्षण क्षेत्रको संकलन अनुमति लिनुपर्ने अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । ‘यार्सा संकलनमा कतैबाट पनि अवरोध भएको गुनासो आएको छैन, स्थानीयस्तरमा समझदारी गरेर यार्सा संकलनको क्षेत्र छुट्याइएको होला’ उपाध्यायले भन्नुभयो, ‘कानुनी रुपमा यार्सा संकलनको अनुमति लिएकालाई कसैले पनि वनक्षेत्रमा प्रवेशमा रोक लगाउन सक्दैन ।’
केही वर्ष पहिले व्यास र राप्ला बाहेकका स्थानीयले अपि हिमाल र दुधिवनमा सबैले यार्सा संकलन गर्न पाउनुपर्ने आवाज उठाएका थिए । त्यतिबेला केही तनावको अवस्था पनि देखियो । तर त्यसपछि व्यास र राप्ला बाहेकका स्थानीयले अपि र दुधिवन बाहेकको हिमाली क्षेत्रमा यार्सा संकलन गर्दैआएका छन् । अपि र दुधिवनमा विगतदेखि रहेको यार्सा संकलनको ‘सिण्डिकेट’ भने यथावत नै छ । 
नागरिकता नभएकालाई समेत संकलन अनुमति दिन माग
दार्चुलाका जनप्रतिनिधिहरुले नेपाली नागरिकता नभएका व्यक्तिलाई समेत यार्सागुम्बा संकलनको अनुमति दिन माग गरेका छन् । जेठ ६ गते अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिह ह्याकीको अध्यक्षतामा बसेको बैठकले यसबारे निर्णय समेत गरेको छ । 
व्यास, दुहुँ, नौगाड, मार्मा र अपिहिमालका स्थानीय सरकार प्रमुखहरुसहितको बैठकले यस्तो माग गरेको हो । बैठकमा अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्यहरु लतिलसिह बोहरा र नगेन्द्र तिंकरी, दार्चुला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मदनसिह बुढाथोकी र सदस्य कमलसिह धामी तथा जटिबुटी व्यवसायी संघ दार्चुलाका महासचिव गणेशसिह बुढाथोकी र सदस्य नरेन्द्र ठगुन्नाको सहभागिता थियो ।
जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर वहादुर कार्की र अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय बैठकमा आमन्त्रित रहनुभएको थियो । यार्सा संकलन गर्नेमध्ये ‘केही व्यक्तिहरुको विभिन्न कारणले नेपाली नागरिकता नभएकाले’ विना नागरिकता यार्सा संकलनको व्यवस्थापन गर्न अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 
‘दार्चुला जिल्लाका वासिन्दाहरुको आय आर्जनको प्रमुख स्रोतको रुपमा रहेको यार्सागुम्बा’ संकलन कार्यबाट वञ्चित गर्न नहुने बैठकको निस्कर्ष छ । ‘स्थानीय जनताको जीविकोपार्जनमा प्रत्यक्ष र अप्रत्यक्ष असर पर्न सक्ने भएकाले नेपाली नागरिकताको प्रमाणपत्र नभए पनि’ यार्सा संकलन गर्न पाउने व्यवस्था गर्ने निस्कर्ष निकालिएको छ । यसका लागि आवश्यकता व्यवस्था गर्न अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई अनुरोध गरिएको छ । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७३ सालमा जारी गरेको यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओपारपोसार) निर्देशिका अनुसार १६ वर्ष उमेर पूरा गरेका र नेपाली नागरिकता प्राप्त नागरिकले मात्रै यार्सा संकलन गर्न पाउने व्यवस्था छ । 
निर्देशिकाको व्यवस्था र स्थानीय सरोकारवालाको माग फरक भएकाले यसबारे जिल्लास्थित सरोकारवाला निकाय र पक्षसंग छलफल गरी आवश्यक निर्णय लिइने प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । नयाँ निर्देशिका भएकाले कार्यान्वयनमा केही चुनौति देखिएको उहाँको भनाई छ । स्थानीय आवश्यकता र परिस्थितिका आधारमा निर्णय लिइने प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य