माटो नेपालको बाटो नेपालको खच्चर इन्डियन !

नयाँ नेपाल समाचार दार्चुला ।
नेपाल र भारत सरकारले महाकाली नदीमाथि अस्थायी पुल राख्ने अनुमति दिएपछि देशको उत्तरपश्चिम सिमा क्षेत्रमा अनौठा दृष्यहरु देखिन थालेका छन् । देशको उत्तरपश्चिमी सिमा क्षेत्र चट्टानी भागले बनेको छ । महाकाली किनारै किनार चट्टानै चट्टान नेपालतिर व्याँस गाउँपालिकाको वडा नम्बर ६ हुतिदेखि वडा नम्बर २ दुम्लिङसम्मको महाकाली किनारको बाटो अबरुद्ध छ । दुम्लिङसम्म पुग्न भारतीय मोटरबाटो प्रयोग गर्नु पर्छ । दुम्लिङसम्म पुग्न भारत पिथौरागढ जिल्लाको जिप्ती ग्रामपञ्चायतको गर्बाधारसम्म मोटारबाटो छ भने गर्बाधारबाट महाकाली किनार झरेर पुल तर्नु पर्छ । 
यो क्षेत्रमा नेपालीहरु मात्रै पुल तरेर नेपाल पस्दैनन्, तिब्बतको ताक्लाकोटसम्म पुग्ने भारतीय व्यापारी, भारतीय सुरक्षा फौजको सरसमान ओसार्ने भरिया र खच्चर, निर्माणाधीन भारतीय सडकमा काम गर्ने कामदार, अन्य कामले भारतको बुँदी, गुञ्जी, नाबी, गब्र्याङ्सम्म पुग्ने स्थानीय, बिवादित क्षेत्र कालापानी लिपुलेकसम्म पुग्ने भारतीय पनि नेपाल तर्छन् । 
एकाबिहानैदेखि यो क्षेत्रमा नागरिकहरुको आवागमनको चलहपहल सुरु हुन्छ । भारततिर महाकाली किनारै किनार सडक निर्माण भएकाले लखनपुरसम्मको भारतीय बाटो पूर्ण रुपमा बन्दछ त्यसैलै उत्तरपश्चिम सिमा क्षेत्रमा भारतीय नागरिकहरुको आवागमनको चहलपहल देखिएको गर्बाधारबाट डेढ किलोमिटर उत्तरतिर पर्ने खण्डेरामा पसल गरि बस्ने गंगोत्री भण्डारीले भनिन् । यो क्षेत्रमा नागरिकहरुको आवागमनको चहलपहल मात्रै हेर्न लायक हुँदैन भारतीय व्यापारी, सुरक्षा फौज र सडक निर्माणका सरसमान ओसार्ने खच्चरहरुको आवागमन पनि रोमाञ्चित पार्ने खालको हुन्छ । घण्ट, चोर र अन्य श्रृङ्गारको सामग्रीले सज्जित खच्चरहरु जब आफ्नो तालमा अगाडि बढ्छन् तब बाटोमा रहेका अन्य गाइवस्तु मात्रै होइन मानिसले पनि बाटो छोडिदिनु पर्छ । ‘खर्च पाजी जनावर हो, भारी बोकेको बेला त झन् मानिसलाई बिपरीत दिसातिर बाट आएको भट्यो भने धक्का दिई हाल्छ ।’ भारतीय सुरक्षा फौजको सलाई ओसारिरहेको बताउने खच्चरधनी धिरक बिष्टले भने ।
ठूलो परिणाममा सरसमान ओसार्नु पर्ने भएकाले भेडाच्याङ्ग्राभन्दा पनि खच्चर नै बढी उपयोगि हुने भएकाले यो भातरीय सेना, सडक निर्माण र तिब्बतसँगको व्यापारका लागि सरसमान ओसार पसार गर्न खच्चर नै प्रयोग गरिने गरेको छ ।
समान ओसार्ने काममा नेपाली नागरिकको भन्दा भारतीय नागरिकका खच्चर बढी छन् । ‘एकजनासँग तीनदेखि ७ वटासम्म खच्चर हुन्छन् । गर्बाधारसम्म गाडिमा मालसमान ल्याई त्यहाँबाट खच्चरमा समान ढुवानी गर्छन् । भारतीय समान सार्ने सबै खच्चर भारतीयहरु कै हुन्छन् ।’ सो क्षेत्रमा पसल गर्ने गंगोत्री भण्डारीले भनिन् । खच्चर चलेको बेला त पुरैबाटो खच्चरकै कब्जामा हुन्छ । घाडेटो साँधुरो भएकाले आहोरदोहोर गर्न निश्चित स्थान पनि छुट्याइएको हुन्छ ।
गर्बाधार नजिकै महाकाली नदि किनारमा बनाइको काठेपुलको भार क्षमता ४ क्वीन्टल भएकाले एक एक गरेर खच्चरहरुलाई पुलबाट तारिन्छ । त्यसैगरी थिंको भिरको भेदमा महाकालीमाथि राखिएको पुलबाट पनि त्यसरी नै खच्चर ओसारिन्छ । गर्बाधारदेखि यो थिंको भिरको भेद महाकाली किनारसम्म आधा दर्जन ठाउँमा भारतीय मेसिन प्रयोग गरेर घोडेटो बनाइएको छ । भारततिर बाटो नहुँदा खच्चहरुलाई सहजताका लागि भारतीय पक्षले नै बाटो बनाई दिएको थिंको भिरमा पसल गरि बस्ने पुनी महराले बताइन् । यो क्षेत्रको करिब ७ किलोमिटर क्षेत्रमा भारतीय खच्चरहरुको लस्कर हेर्न लायक हुन्छ ।
भारतले आफ्नो तिर सडक निर्माण गर्न सके यो चलहपहल घट्ने बताउँदै नेपालतिर पनि सडक निर्माण गर्न सके चहलपलह कायम राख्न सकिने व्याँस गाउँपालिका वडा नम्बर २ का जीवनसिह बुढाथोकीले बताए ।