तीन वर्षदेखि दार्चुला–तिंकर सडकमा जिलेटिन अभाव, दश मेट्रिक टन जिलेटिन सापटी लिने तयारी ।।

नयाँ नेपाल समाचार दार्चुला ।
त्रिदेशीय सीमाक्षेत्र तिंकर नाका जोड्ने दार्चुला तिंकर सडक निर्माणका लागि तीन वर्षदेखि विस्फोटक पदार्थको अभाव देखिएको छ । सात नम्बर प्रदेशमा निर्माणाधीन रणनीतिक महत्वको यस सडक निर्माणले नेपाली सेनाले सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा निर्माण कार्य प्रभावित बनेको हो ।
महाकाली करिडोर अन्तरगतको दार्चुला–तिंकर सडकखण्ड निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको व्यवस्थापन गर्न नेपाली सेनासंग सम्झौता भएकोमा सम्झौता अनुसार विस्फोटक पदार्थ उपलब्ध हुन नसकेको दार्चुला तिंकर सडक योजनाले जनाएको छ । पटक पटक पत्राचार गरी विस्फोटक पदार्थ आपुर्तिका लागि नेपाली सेनालाई अनुरोध गरिएको दार्चुला तिंकर सडक आयोजनाले जनाएको छ । 
२०७२ वैशाख १२ को भूकम्पपछि काठमाण्डौको स्वयंभूमा उत्पादन हुने विस्फोटक पदार्थ आपुर्तिमा समस्या भएकाले सडक निर्माण कार्य प्रभावित बनेको दार्चुला तिंकर सडक योजनाका सुचना अधिकारी दिनेश रैखोलाले बताउनुभयो । पूर्व सम्झौताअनुसार नेपाली सेनाले आवश्यक मात्रामा विस्फोटक पदार्थ आपुर्ति गर्न नसकेको उहाँको भनाइ छ ।
कडा चट्टानी भूबनोटका कारण तिंकर सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गर्नुको विकल्प छैन । उत्पादन कम भएकाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकिने जानकारी नेपाली सेनाबाट आएको समेत योजनाले जनाएको छ । दार्चुला सदरमुकामदेखि १ सय ३० किलोमिटर अगाडि चीनको सिमाना जोडिने तिंकर भञ्ज्याङसम्म सडक निर्माण गर्ने नेपाल सरकारको लक्ष्य छ । डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला आर्थिक वर्ष २०६५÷६६ देखि दार्चुला तिंकर सडक योजना सुरु गरिएको थियो । 
खलंगादेखि राप्लाको घाटिबगडसम्मको ६० किलोमिटर क्षेत्रमा टेण्डर खोली सडक निर्माणको सम्झौता समेत भइसकेको योजना प्रमुख रामचन्द्र साहले बताउनुभयो । सुन्सेरासम्मको करिब ४० किलोमिटर लामो सडकको ट्रयाक खोलिने क्रममा छ । 
दश मेट्रिक टन जिलेटिन सापटी लिने तयारी
दार्चुला–तिंकर सडक निर्माणका लागि १० हजार मेट्रिक टन जिलेटिन सापटी लिने तयारी गरिएको छ । दार्चुला तिंकर सडक निर्माणमा नेपाली सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेपछि सडक योजनाले १० मेट्रिक टन जिलेटिन सापटी लिन लागेको हो । बझाङ जिल्लामा निर्माणाधिन कालङगाड जलविद्युत आयोजनाका लागि भण्डारण गरिएको विस्फोटक पदार्थ सापटी लिन लागिएको दार्चुला तिंकर सडक आयोजनाका प्रमुख रामचन्द्र साहले बताउनुभयो । 
जलविद्युत आयोजना निर्माणमा संलग्न इन्टिग्रेटेड इनर्जी म्यानेजमेन्ट गु्रप प्रालिले विस्फोटक पदार्थ सापटी दिन सकिने बताएपछि प्रक्रिया अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।
दार्चुला तिंकर सडकको ट्र्याक खोल्न सके दार्चुला जिल्लाको मात्र नभई सिंगो ७ नम्बर प्रदेशकै समृद्धि हुने देखिएको छ । तिंकर नाकासम्म ट्र्याक खोली चीनसंग व्यापार सम्झौता गर्न सके ७ नम्बर प्रदेशको समृद्धि हुने देखिएको छ ।