छाङरुमा सीमा कार्यालयको बोर्ड छ, कर्मचारी छैनन् ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
व्यास गाँउपालिकाको वडा नम्बर १ छाङरुमा सीमा प्रशासन कार्यालयको साइनबोर्ड भए पनि दुई वर्षदेखि कर्मचारी छैनन् । कर्मचारी नै नभएपछि कार्यालयमा ताला झुण्ड्याइएको छ । दुई वर्षअघिसम्म एकजना कार्यालय सहयोगीले छाङरुको सीमा प्रशासन कार्यालय सञ्चालन गरेकोमा पछिल्लो समय कुनै पनि कर्मचारी व्यास क्षेत्रमा नआएको स्थानीय जीतसिह बोहराले बताउनुभयो । नेपाल सरकारले सीमा प्रशासन कार्यालय व्यासका लागि शाखा अधिकृतसहित ५ जना कर्मचारीको दरबन्दी व्यवस्था गरेको छ ।
छाङरुस्थित स्थानीय सुरेन्द्रसिह बोहराको घर भाडामा लिएर सीमा कार्यालय राखिएको छ । यद्यपि कार्यालयमा कुनै कर्मचारी छैनन् । भाडाको घरको बाहिरपट्टी कार्यालयको साइनबोर्ड भने झुण्ड्याइएको छ । घरभाडावाफत कार्यालयले मासिक २ हजार ५० रुपैयाँ घरधनी बोहरालाई तिरिरहेको छ । विगत दुई वर्षदेखि सीमाका कुनै पनि कर्मचारी छाङरुमा नआएको घरधनी बोहराले बताउनुभयो । दुई वर्षअघिसम्म वैशाखदेखि भदौ÷असोजसम्मको समयमा एकजना कार्यालय सहयोगीले सीमा कार्यालय खोल्ने गर्दथे । कार्यालय सहयोगीले छाङरुमा कार्यालय खोलेर बस्ने गर्दथे । कार्यालयमा नेपाली झण्डा राखिने गर्दथ्यो तर दुई वर्षदेखि झण्डा पनि नगाडिएको स्थानीयको भनाई छ । 
पञ्चायतकालमा २०३४ सालमा स्थापना भएको व्यासको सीमा प्रशासन कार्यालय पछिल्लो समय सञ्चालनमा आउन सकेको छैन । वर्षको ६ महिना व्यास र ६ महिनामा खलंगामा सञ्चालन हुनुपर्ने सीमा कार्यालय पछिल्लो सरकारी उदाशीनताले दुबै स्थानमा सञ्चालन हुन नसकेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताउनुभयो ।
दुई वर्षअघिसम्म आफुले छाङरुको सीमा कार्यालय नियमित सञ्चालन गरेको तत्कालिन कार्यालय सहयोगी जयानन्द भट्टले बताउनुभयो । भट्टको पछिल्लो समय सरुवा भइसकेको छ । अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा कार्यालय नियमित सञ्चालन गरी कर्मचारी खटाउनु आवश्यक रहेको सीमा प्रशासन कार्यालयका पूर्व प्रमुख फकिरसिह धामीले बताउनुभयो ।
सीमा प्रशासन कार्यालयमा एकजना शाखा अधिकृत, एकजना नायवसुब्बा, एकजना सहलेखापाल र दुईजना कार्यालय सहयोगीको दरबन्दी छ । शाखा अधिकृत दुई वर्षदेखि छैनन् । अन्य कर्मचारीले भने जिल्ला प्रशासन कार्यालयमा काम गर्दैआएका छन् ।  अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा रहेको कार्यालय सञ्चालनमा लापरवाही भएको पत्रकार महासंघ अध्यक्ष धामीको आरोप छ । ‘सामरिक महत्वको क्षेत्रमा कार्यालय सञ्चालन गरी कर्मचारी खटाउनुपर्ने हो, तर सिडियो र गृह मन्त्रालयको ध्यान गएको छैन’ उहाँले भन्नुभयो । 
सीमा प्रशासन कार्यालय छाङरुमा कोही पनि कर्मचारी नदेखिएको व्यास गाँउपालिका १ नम्बर वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । ‘सीमाक्षेत्रमा राज्यको उपस्थिति जनाउनुपर्ने हो, लामो समयदेखि कार्यालय सञ्चालनमा छैन’ उहाँले भन्नुभयो, ‘स्थानीयलाई पनि राज्य छ भन्ने अनुभूति गराउन कार्यालय सञ्चालन गरिनुपर्छ ।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य सीमा प्रशासन कार्यालय सञ्चालनमा ल्याउनेबारे गृहकार्य भइरहेको बताउनुहुन्छ । ‘आगामी केही दिनमा व्यासक्षेत्रमा कर्मचारी नै खटाउनेबारे तयारी भइरहेको छ’ प्रजिअ आचार्यले भन्नुभयो ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य