यार्सागुम्बा संकलनमा दोहोरो कर, यस्तो थियो अलिखित र गोप्य सहमति ।।

नयाँ नेपाल समाचार दार्चुला ।
याे वर्षको यार्सागुम्बा संकलनमा स्थानीय सरकार र अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले छुट्टाछुट्टै कर उठाइरहेका छन् । विगतका वर्षहरुमा यार्सागुम्बा संकलन अनुमतिपत्र अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट जारी हुँदैआएकोमा स्थानीय सरकारको नयाँ संरचना आएपछि व्यास र अपिहिमाल गाँउपालिकाले यार्सा संकलकबाट कर उठाइरहेका छन् । 
प्राकृतिक स्रोतको व्यवस्थापनमा स्थानीयको अग्राधिकार हुनुपर्ने भन्दै दुइटा स्थानीय सरकारले प्रत्येक यार्सा संकलकबाट शुल्क उठाउदैआएका छन् । अपिहिमाल गाँउपालिकाले वातावरण संरक्षण शुल्क र व्यास गाँउपालिकाले यार्सागुम्बा संकलन अनुमति पत्रका नाममा शुल्क उठाइरहेको छ । 
यार्सागुम्बा संकलकहरुबाट व्यास गाँउपालिकाको क्षेत्रमा प्रतिव्यक्ति ४ सय रुपैयाँ शुल्क उठाइदैआएको छ । अपिहिमाल गाँउपालिकाले वातावरण संरक्षण शुल्कको नाममा प्रतिव्यक्ति ५ सय रुपैयाँ उठाइरहेको छ । अपिहिमालमा सुरुमा यार्सा संकलन अनुमतिपत्रको नाममा शुल्क उठाइए पनि पछिल्लो समय वातावरण संरक्षण शुल्क नाम दिइएको छ । 
दुबै गाँउपालिकाको गाँउसभाबाट यार्सागुम्बा संकलकहरुबाट शुल्क उठाउने निर्णय गरिएको थियो । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्नेभन्दै प्राकृतिक स्रोतको व्यवस्थापनबाट शुल्क उठाउने अभ्यास गाँउपालिकाहरुले गरेका छन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले भने यार्सागुम्बा संकलनको अनुमतिपत्र दिने अधिकार गाँउपालिकालाई नभएको बताएको छ । ‘यार्सागुम्बा संकलनको अनुमति दिने र शुल्क उठाउने अधिकार कार्यालयलाई मात्र छ’ प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भन्नुभयो, ‘कसैले यार्सा संकलन अनुमतिको नाममा शुल्क उठाएको छ भने त्यो गैरकानुनी हो ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ जारी गरेको छ । निर्देशिकामा ‘संरक्षण क्षेत्र कार्यालयले संकलनको परिमाण खुलाउनुका साथै संकलन अवधि तोकेर संकलन अनुमति दिने’ उल्लेख छ । 
संरक्षित क्षेत्रभित्रको स्थानीय वासिन्दाको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ अनुमति दस्तुर निर्देशिकामा तोकिएको छ । संरक्षित क्षेत्र बाहिरका तर सम्बन्धित जिल्लाका वासिन्दालाई प्रतिव्यक्ति २ हजार रुपैयाँ र जिल्ला बाहिरका लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संरक्षण क्षेत्र संघीय सरकारको अधिकार क्षेत्र हुने उल्लेख गरिएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले अहिलेसम्म संरक्षण क्षेत्रभित्रका नागरिकबाट दस्तुर संकलन गरेको छ । संरक्षण क्षेत्रको कार्यालयका साथै विभिन्न ठाँउमा रहेका रेन्जपोष्टहरुबाट यार्सा संकलनको अनुमति पत्र जारी गरिएको छ । अपिहिमाल र व्यास गाँउपालिकाले भने शुल्क उठाउने टोली नै परिचालन गरेका छन् । यार्सा संकलन भइरहेका वनक्षेत्रमै गएर गाँउपालिकाको टोलीले शुल्क उठाइरहेको व्यास गाँउपालिका वडा नम्बर १ गागाका स्थानीय जीतसिह बोहराले बताउनुभयो ।
निर्णय एउटा, कार्यान्वयन अर्कै
यार्सागुम्बा संकलनमा दुइ पक्षबाट शुल्क उठाउन थालिएपछि जिल्लास्तरमा सरोकारवाला पक्षबीच समन्वय र छलफल गरिएको थियो । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको समन्वयमा भएको बैठकले यार्सा संकलनबारे गम्भीर छलफल गरेको हो । यद्यपि धेरै चरणमा बसेको बैठकले निकालेको निस्कर्षबारे प्रजिअ आचार्य नै जानकार छैनन् । ‘मैले समन्वय गरेर बैठकको सुरुवाती गरिदिएको हो, के निस्कर्ष आयो सम्बन्धित पक्षलाई थाहा होला’ प्रजिअ आचार्यले भन्नुभयो । 
केही दिनको चरणवद्ध छलफल र बैठकपछि जेठ ६ गते बैठक निस्कर्षमा पुगेको थियो । जेठ ६ को बैठकले अपिनाम्पा संरक्षण क्षेत्र परिषद् वा परिषद्अन्तर्गतको उपभोक्ता समितिको सिफारिसमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा संकलन अनुमति पत्र जारी गर्ने निर्णय गरेको छ । 
निर्णयमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले अनुमति पत्र जारी गर्ने भनिए पनि वनक्षेत्रमा भने गाँउपालिकाहरुले शुल्क उठाउने टोली परिचालन गरेका छन् । संरक्षण क्षेत्र कार्यालयअन्तर्गतको व्यास रेन्जपोष्टले जेठ १ देखि ६ गतेसम्म यार्सा संकलन अनुमति पत्र जारी गरे पनि जिल्लास्तरको बैठकपछि अनुमति पत्र दिने कार्य रोकिएको स्थानीय कर्मचारी बताउँछन् । 
रेन्जपोष्टमा कार्यरत कर्मचारी वीरेन्द्रसिह ठाकुरका अनुसार जेठ १ देखि ६ गतेसम्म ४६ जनालाई यार्सा संकलन अनुमति दिइएको छ । जेठ ६ मा भएको सरोकारवालाहरुको बैठकपछि यार्सा संकलन अनुमतिपत्र वितरणमा अन्यौलता देखिएको कर्मचारीहरुको भनाई छ । 
अलिखित र गोप्य सहमति यस्तो थियो 
जेठ ६ गतेको बैठकको निर्णयमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा संकलन अनुमतिपत्र जारी गर्ने उल्लेख भए पनि गाँउपालिकाहरुले शुल्क उठाउने अलिखित र गोप्य सहमति भएको थियो । 
व्यास र अपिहिमाल गाँउपालिकाले वनक्षेत्रमा गएर शुल्क उठाउने तथा उठेको शुल्क दुहुँ, नौगाड र मार्मा गाँउपालिकालाई पनि बाँडफाँड गर्ने सहमति बैठकका सहभागीबीच भएको स्रोतले बतायो । दुबै गाँउपालिकामा उठेकेका शुल्कको सात भाग बनाएर दुई÷दुई भाग व्यास र अपिहिमाल गाँउपालिकालाई दिने तथा दुहुँ, नौगाड र मार्मा गाँउपालिकालाई एक÷एक हिस्सा बाड्ने सहमति भएको राखुपा उपभोक्ता समिति व्यासका अध्यक्ष ललितसिह बोहराले बताउनुभयो । 
यार्सागुम्बा संकलनबाट उठेको रकमको बढी हिस्सा प्रभावित गाँउपालिकामा बाड्नेबारे छलफल गरिएको नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । यार्सा संकलकहरुबाट उठाइएको रकम अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गत पर्ने सबै स्थानीय तहमा बाँडफाँड गर्ने सहमति भए पनि लिखित निर्णय भने गरिएको छैन ।