पाँच सय भारुको नोट बरामद, ५ दिनसम्म पनि आफुलाई जानकारी नभएको सिडियोको भनाई ।।

नयाँ नेपाल समाचार दार्चुला ।
सशस्त्र प्रहरीले दार्चुलामा पाँच सय भारतीय रुपैयाँका नोट बरामद गरेको छ । भारतको धारचुलाबाट दार्चुला सदरमुकाम ल्याउदैगरेको अवस्थामा असार ६ गते पुलघाटबाट सशस्त्र प्रहरीले विवेक बोहरालाई पक्राउ गरेको हो । 
२६ वर्षिय बोहरा महाकाली नगरपालिका वडा नम्बर ४ का वासिन्दा भएको प्रहरीले जनाएको छ । असार ६ गते अपरान्ह साढे ४ बजे समातिएका बोहरालाई प्रहरीले सोही दिन छोडिसकेको छ । धारचुलाको बैंकबाट भुक्तानी लिएको प्रमाण भेटिएपछि बोहरालाई छोडिएको दार्चुला प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो । 
सशस्त्र प्रहरीका असई केशरसिह धामीको टोलीले ५ सय दरका १ सय ९६ वटा नोट र एउटा दुइ हजारको भारु नोटसहित बोहरालाई समातेको थियो । सशस्त्र प्रहरीले त्यसैदिन नेपाल प्रहरीलाई जिम्मा लगाएकोमा प्रहरीले आवश्यक कागजपत्र भएको भन्दै छाडेको हो । 
पाँच दिनअघिको घटनाबारे बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले यसबारे आफुलाई थाहा नभएको बताउनुभयो । जबकी असार ८ गते सशस्त्र प्रहरीले लिखित रुपमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छ । 
जिल्लामा कुनै घटना हुँदा तत्काल मोबाइल वा मौखिक रुपमा जिम्मेवार अधिकारीहरुबीच सुचना आदानप्रदान हुने गर्दछ । सामान्य नागरिकले समेत सुरक्षा अधिकारीबारे यस्तै बुझाइ बनाएको हुन्छ । तर भारु नोट बरामद सम्बन्धि यो घटनाबारे अधिकारीहरुबीच सुचना आदान प्रदान साच्चिकै नभएको हो कि जानकारी लुकाउन खोजिएको हो ? गम्भीर प्रश्न उठेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीको भनाई छ । 
अमेरिकामा पढदै गरेका विकेक बोहरा घर आएको बेला बैंकबाट भारु साटेको विवेकका आफन्त कैलाशसिह बोहराले बताउनुभयो । प्रहरीलाई विद्यार्थी भिसा देखाएपछि रुपैयाँसहित विवेकलाई असार ६ गते नै छोडिएको थियो ।