निर्देशिका विपरित यार्सा संकलनको निर्णय, अपिनाम्पा र गाँउपालिका दुबैले कर नउठाउने सहमति !

नयाँ नेपाल समाचार दार्चुला ।
दार्चुलामा जेठ ६ गतेको एक बैठकले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ को व्यवस्था विपरित निर्णय गरेको छ । जिम्मेवार जनप्रतिनिधिहरु, राजनीतिक नेतृत्व र प्रशासकीय नेतृत्व सम्मिलित बैठकले निर्देशिकाको प्रावधान विपरित निर्णय गरेको हो । 
निर्देशिकामा ‘यार्सागुम्बा संकलन गर्न १६ वर्ष उमेर पूरा गरेको व्यक्तिले मात्र अनुमति पाउनेछन्’ भन्ने उल्लेख छ । साथै निर्देशिकाको अनुसुची १ मा यार्सागुम्बा संकलन गर्न अनुमति पाउ भन्ने निवेदनपत्रसाथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने उल्लेख छ । तर बैठकले ‘नेपाली प्रमाणपत्र नभए पनि अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् वा सो परिषद् अन्तर्गत गठित उपभोक्ता समितिबाट संकलनकर्ताको नाम र ठेगाना स्पष्ट खुलाई सिफारिस प्राप्त भएको अवस्थामा’ संकलन अनुमतिपत्र दिने व्यवस्था मिलाउन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । 
अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिह ह्याकीको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा परिषद्का सदस्यहरु ललितसिह बोहरा र नगेन्द्र तिंकरी तथा व्यास, दुहुँ, अपिहिमाल, नौगाड र मार्मा गाँउपालिका अध्यक्षहरुको सहभागिता रहेको छ । यसैगरी, जिल्ला समन्वय समिति प्रमुख करवीरवहादुर कार्की र अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय पनि बैठकमा सहभागी छन् । 
‘यार्सागुम्बा संकलन गर्न चाहने स्थानीय व्यक्तिहरु मध्ये केही व्यक्तिहरुको विभिन्न कारणहरुले नेपाली नागरिकता नभएको कारण’ यस्तो व्यवस्था गर्ने निर्णय भएको छ । ‘दार्चुला जिल्लाका वासिन्दाहरुको आयआर्जनको प्रमुख स्रोतको रुपमा रहेको’ यार्सागुम्बाको संकलनमा नागरिकतालाई अनिवार्य नगरिदा सुविधा पुग्ने बैठकको ठहर छ । 
‘परिषद् वा उपभोक्ता समितिको सिफारिसका आधारमा संकलन अनुमतिपत्र उपलब्ध गराउदा स्थानीय जनतालाई धेरै राहन पुग्ने हुँदा यस्तो व्यवस्था मिलाउन’ अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
यार्सागुम्बा संकलनमा वालवालिका समेत परिचालन हुने गरेका छन् । हिमाली क्षेत्रका विद्यालयहरु नै बन्द गरेर यार्सागुम्बा संकलन हुने गरेको छ । यद्यपि निर्देशिकाले १६ वर्षमुनिका व्यक्तिलाई यार्सा संकलनमा रोक लगाएको छ । जिल्लामा विगतदेखि साना वालवालिकासमेत जाने गरेकाले यस्मा नियन्त्रण र व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । 
नेपाली नागरिकता विना यार्सा संकलन गर्न दिने निर्णयले भारतीय यार्सा संकलकहरुलाई भने सहज भएको छ । यार्सा संकलनका लागि नेपाली नागरिकता अनिवार्य नगरिएपछि व्यासको अपि वनक्षेत्रमा यार्सा संकलन गर्ने भारतको गव्र्याङ वस्तीका नागरिकलाई सहज भएको छ । यद्यपि परम्परागत रुपमा आफुहरुले अपि वनक्षेत्रको उपभोग गर्दैआएको गव्र्याङवासीको दावी छ । 
यार्सागुम्बा संकलनलाई व्यवस्थित बनाउन चुनौतीपूर्ण रहेको प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाई छ । प्रारम्भिक चरणमै भएकाले निर्देशिकाका सबै व्यवस्था र प्रावधान कार्यान्वयनमा ल्याउन नसकिएको उहाँले स्वीकार्नुभयो । 
‘अपिनाम्पा र गाँउपालिका दुबैले कर नउठाउने सहमति !’ 
यार्सागुम्बा संकलन अनुमतिपत्रको विषयमा समस्या देखिएपछि जेठ ६ गते आयोजना गरिएको बैठकमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र स्थानीय तह दुबै पक्षले कर नउठाउने सहमति भएको खुलेको छ । 
यार्सागुम्बा संकलन गर्नेहरुबाट स्थलगत रुपमा उठाइने कर दुबै पक्षले यो वर्ष नउठाउने सहमति भएको बैठकमा एक सहभागीले बताएका छन् । ‘अपिनाम्पा र गाँउपालिका दुबैबाट कर उठाउदा ठूलो अन्यौलता देखिएपछि कसैले पनि वनक्षेत्र गएर कर नउठाउनेबारे बैठकमा सहमति भएको थियो’ बैठकमा सहभागी दार्चुला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मदनसिह बुढाथोकीले बताउनुभयो । 
यार्सा संकलन अनुमतिपत्रवाफत उठाउनुपर्ने सरकारी राजश्व यार्सागुम्बाका व्यापारीहरुले अपिनाम्पामा बुझाउने सहमति भएको स्रोतले बतायो । व्यापारीहरुले यार्सागुम्बा ओसारपसार अनुमति र उत्पत्ति प्रमाणपत्र लिनुपर्ने भएकाले यार्सा संकलन अनुमतिपत्रको दस्तुर व्यहोर्ने सहमति भएको थियो । 
बैठकको छलफल र सहमति विपरित व्यास र अपिहिमाल गाँउपालिकाले भने यार्सागुम्बा संकलकहरुलाई रकम संकलन गरिरहेका छन् । यद्यपि सुरुमा यार्सागुम्बा संकलन अनुमतिपत्रवाफत भनिएकोमा पछिल्लो समय वातावरण संरक्षण शुल्कको नाममा रकम संकलन गरिएको छ । 
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले सुरुमा आधा दर्जनभन्दा बढी स्थानबाट संकलन अनुमतिपत्र वितरण गर्ने सुचना जारी गरेको थियो । तर जेठ ६ गतेको सहमतिपछि यसको कार्यान्वयन रोकिदैआएको छ । 
अपिहिमाल गाँउपालिकाले यार्सा संकलकहरुलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ वातावरण संरक्षण शुल्क उठाएको गाँउपालिका अध्यक्ष डिएन घाजिरेलले बताउनुभयो । व्यास गाँउपालिकाले भने यार्सागुम्बा संकलकहरुबाट प्रतिव्यक्ति ४ सय रुपैयाँ उठाएको छ । 
अपिहिमाल गाँउपालिकामा ७÷८ सय यार्सा संकलकहरुबाट वातावरण शुल्क उठेको अध्यक्ष घाजिरेलले बताउनुभयो । यार्सा संकलन कार्य चलिरहेकाले तीन हप्तापछि मात्रै यार्सा संकलकहरुबाट उठाएको शुल्कको पूरा विवरण उपलब्ध हुन सकिने उहाँले जानकारी दिनुभयो । 
व्यास गाँउपालिकाको वडा नम्बर १ मा करिब ४ सयले शुल्क तिरेको वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । वडा नम्बर २ को वनक्षेत्रमा पनि ४÷५ सय संकलकबाट शुल्क उठाएको अनुमान गरिएको छ । 
यार्सा संकलन अनुमतिपत्र अपिनाम्पा संरक्षण क्षेत्रबाट मात्र जारी हुनसक्ने भन्दै व्यवस्थापन परिषद् अध्यक्ष चक्रसिह ह्याकी गाँउपालिकाले रकम उठाएकोबारे आफुलाई जानकारी नभएको बताउनुहुन्छ ।
 

खलंगा बजारमा तरकारी र खाद्यान्नको मूल्य घट्यो, ग्याँसमा २५ रुपैँयाले मूल्य बृद्धि।।

दार्चुला समाचार ,, पछिल्लो सयम दार्चुला बजारमा तरकारी र खाद्यान्नको मूल्य घटेको छ भने ग्याँसको मूल्य २५ रुपैँयाले बढेको छ । दार्चुला बजारको मूल्य

स्थानीय सरकारमा पनि विस्थार हुन सबै सहकारीहरुलाई नगर प्रमुख भट्टको अग्रह ।।

दार्चुला समाचार,, दार्चुला जिल्लामा रहेका सबै सहकारीहरुलाई स्थानीय तहमा गई सबैजनतालाई सेवादिने खालको काम गर्न सबै सहकारीहरुलाई महाकाली नगरपालीकाका

अल्लो प्रसोधन मेसिन र भवन हस्तान्तरण, , अल्लो उत्पादन बजारीकरणमा जोड। ।

दार्चुला समाचार ,  नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा लघु उद्यमीहरुलाई अल्लो प्रसोधन मेसिन र भवनहरु आज हस्तान्तरण गरिएका छन् । उद्योग