यार्सा संकलन सिफारिसको रकम परिषद्बाटै गायव, छोडपूर्जीमा पनि थप असुली ।

नयाँ नेपाल समाचार, दार्चुला ।
यार्सागुम्बा संकलन अनुमतिपत्र जारी गर्दा अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले सिफारिस दिने व्यवस्था छ । यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ को व्यवस्था अनुसार परिषद् वा परिषद्अन्तर्गतको उपभोक्ता समितिको सिफारिसमा संकलन अनुमति जारी गरिने र सिफारिस दस्तुर उठाउन सकिने व्यवस्था पनि छ । तर आठ हजार यार्सा संकलकबाट उठ्नुपर्ने सिफारिस दस्तुरको रकम गायव भइरहेको छ । 
यस वर्षको यार्सागुम्बा संकलनलाई व्यवस्थित बनाउन जेठ ६ गते परिषद्का पदाधिकारी, जनप्रतिनिधिसहित सरोकारवालाको बैठकले परिषद्को सिफारिसमा संकलन अनुमति जारी गर्ने निर्णय पनि गरेको थियो । प्रतिव्यक्ति एक सय रुपैयाँ सिफारिस दस्तुर उठाइए पनि उक्त रकम परिषद्को खातामा जम्मा भएको छैन । 
एकमुष्ट रुपमा यार्सा संकलनको अनुमतिपत्र बनाइरहेका यार्सा व्यापारीहरुले भने प्रतिव्यक्ति एकसय रुपैयाँका दरले परिषद् अध्यक्षलाई शुल्क तिरिरहेका छन् । एक किलोग्राम यार्सागुम्बा संकलनको अनुमतिपत्र बनाउन ८ जना यार्सा संकलकको अनुमतिपत्र बनाउनुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार प्रतिकिलो आठ सय रुपैयाँ सिफारिस दस्तुर संकलन हुनुपर्ने हो । व्यापारीहरुले अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिह ह्याकीलाई उक्त रकम बुझाइरहेको बताएका छन् । 
परिषद्का तर्फबाट भने यार्सा संकलनको सिफारिसपत्र मात्रै व्यापारीहरुलाई दिइदैछ । ‘रकम दिएर रसिद वा भौचर मागे त्यतिकै विलम्ब गरिदिन्छन् र सिफारिस बनाउन ढिला गरिदिन्छन्’ एक व्यापारीले भन्नुभयो, ‘लामो झन्झटभन्दा प्रतिकिलो ८ सय रुपैयाँ दिएर रसिदविनै सिफारिस पत्र बनाउनु परेको छ ।’ लाखौ र करोडौको कारोबार गर्ने व्यापारीले सानो रकमका लागि रसिद मागेर किचकिच नगरेको अर्का व्यापारीको भनाई छ । ‘हामीले त प्रतिव्यक्ति सय रुपैयाँ तिर्ने हो, रसिद दिए राम्रो हुन्थ्यो नदिए पनि हामीले त दिनैपर्ने हो’ ती व्यापारीको भनाई छ । 
परिषद्ले भने प्रतिव्यक्ति एक सय रुपैयाँका दरले सिफारिस दस्तुर व्यापारीबाट उठाइहेको छ । तर नगदी रसिद दिएको छैन । बैंक भौचर पनि लगाइएको छैन । परिषद् अध्यक्ष चक्रसिह ह्याकी सिफारिस दस्तुर नउठाइएको बताउनुहुन्छ । ‘कहिकतै यो रकम उठाउनेबारे निर्णय भएको छैन’ अध्यक्ष ह्याकीको भनाई छ । 
यो वर्ष आठ हजार यार्सागुम्बा संकलकहरुलाई संकलन अनुमतिपत्र दिने तयारी छ । यो सिजनमा ८ सय २० किलोग्राम यार्सा संकलन हुने प्रक्षेपणसहित आठ हजार जनालाई प्रतिव्यक्ति १ सय १७ ग्राम यार्सागुम्बा संकलन गर्ने अनुमति दिने कार्य भइरहेको सहायक संरक्षण अधिकृत पेम्बा शेर्पाले बताउनुभयो । 
गत चैत्र ७ र ८ गते बसेको परिषद्को बैठकले यार्सा संकलनको अनुमतिका लागि सिफारिस गर्दा उपभोक्ता समितिले एक सय रुपैयाँ सिफारिस दस्तुर उठाउने निर्णय गरेको अभिलेख छ । पछिल्लो समय केही उपभोक्ता समितिले यार्सा संकलनस्थलमै यस्तो सिफारिस दस्तुर संकलकहरुबाट उठाएका छन् । जेठ ६ गते भद्र सहमतिअनुसार अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट यार्सा व्यापारीले सिधै संकलन अनुमतिपत्र बनाउने भएपछि यसको सिफारिस परिषद्ले गर्दैआएको छ । परिषद्ले यार्सा संकलनका लागि नामनामेसीसहित सिफारिस पत्र दिइरहेको छ तर सिफारिस दस्तुर उठाएको नगदी रसिद दिइरहेको छैन ।
परिषद्ले सिफारिस रकम उठाएको तर रसिद नदिएको थाहा पाएपछि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले असार १९ गते परिषद्लाई पत्र लेखेको छ । सिफारिस दस्तुरबारे परिषद्संग कार्यालयले जानकारी मागेको स्रोतको भनाई छ । 
परिषद्मा रकम उठने तर आधिकारिक रुपमा जम्मा नहुन थालेपछि कर्मचारीसमेत अचम्मित बनेको एक कर्मचारीले बताउनुभयो । ‘रकम त उठिरहेको छ तर कहाँ जम्मा हुँदैछ थाहा छैन’ ती कर्मचारीले भन्नुभयो । 
छोडपूर्जीमा पनि थप असुली
अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को नामबाट यार्सागुम्बाको छोडपूर्जीमा पनि थप रकम असुली भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट छोडपूर्जी जारी गर्दा पनि परिषद्को सिफारिस माग्ने गरिएको छ । यहि सिफारिस पत्र बनाउदा सिफारिस दस्तुर परिषद्ले उठाइरहेको छ । 
जेठ ६ गतेको भद्र सहमतिअनुसार यार्सा व्यापारीले छोडपूर्जी बनाउदा प्रतिकिलो ३ हजार रुपैयाँ परिषद्लाई सिफारिस दस्तुर बुझाउनुपर्ने थियो । तर परिषद्ले ३५ किलो यार्सागुम्बाको छोडपूर्जी सिफारिस गर्दा प्रतिकिलो ४ हजार रुपैयाँ उठाएको व्यापारी बताउँछन् । 
परिषद्को बैंक खातामा भने प्रतिकिलो ३ हजार रुपैयाँ मात्रै जम्मा गरिएको स्रोतले बतायो । बाँकी एक हजार रुपैयाँको भने कुनै हिसाब छैन । यार्सा व्यापारीले झन्झट र विवाद गर्नुभन्दा थप एक हजार रुपैयाँ तिरिरहेको अर्का व्यापारीको भनाई छ । 
परिषद्ले प्रतिकिलो चार हजार रुपैयाँ छोडपूर्जीको सिफारिस दस्तुर उठाएको थाहा पाएपछि तीन दिनअघि मात्रै व्यापारी र परिषद् अध्यक्षबीच छलफल भएको छ । छलफलमा अबदेखि प्रतिकिलो ३ हजार रुपैयाँ व्यापारी स्वयंले बैंक खातामा जम्मा गर्ने सहमति भएको एक व्यापारीले बताउनुभयो । 
भारतबाट यार्सागुम्बा ल्याइने अवस्थाका कारण हरेक पक्षले व्यापारीबाट थप रकम उठाउन खोजिरहेको ती व्यापारीको भनाई छ । 
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य