सीमा बैठक असार २८ मा प्रस्तावित, खलंगामा बैठक आयोजना गर्ने तयारी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाल र भारतका अधिकारीहरुको समन्वय बैठक असार २८ मा हुने भएको छ । नेपाली पक्षको पहलमा दार्चुला सदरमुकाम खलंगामा बैठक आयोजना गर्ने तयारी भइरहेको छ ।
गृह मन्त्रालयले बैठक आयोजनाका लागि स्वीकृति दिइसकेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो । नेपालको दार्चुला र बैतडी जिल्लाका अधिकारीहरु बैठकमा सहभागी हुनेछन् । प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र अन्य सरोकारवाला निकायका प्रमुखहरु बैठकमा सहभागी हुने भएका छन् ।
भारतको पिथौरागढ जिल्लाका डिएम, धारचुला तहसिलका एसडिएमका साथै अन्य सरोकारवाला निकायका प्रमुखहरु बैठकमा सहभागी हुनेछन् । बैठकको तयारीका लागि भारतीय पक्षसंग सम्पर्क र समन्वय भइरहेको सहायक प्रजिअ जोशीले जानकारी दिनुभयो ।
शुक्रवार मात्रै दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसहितको टोलीले पिथौरागढका डिएम सि रविशंकरसंग धारचुलामा अनौपचारिक भेटघाट गरेको छ । प्रजिअ आचार्यको पिथौरागढका डिएमसंग पहिलो भेटघाट हो । यसअघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी रहेका जनार्दन गौतम नेतृत्वमा पिथौरागढमा सीमा बैठकमा सहभागिता रहेको थियो ।
सीमा क्षेत्रका साझा सरोकारका विषयमा बैठकमा छलफल हुने गर्दछन् । आपसी समन्वय र सहयोग आदानप्रदानमा दुई देशका अधिकारीबीच सहकार्य हुँदैआएको छ । यसअघि गत फागुन २१ गते भारतीय पक्षको व्यवस्थापनमा पिथौरागढमा सीमा बैठक बसेको थियो ।