दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड
दार्चुला समाचार,,
दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सुरक्षा निकायबाट भएको खर्च भने यसमा समावेश गरिएको छैन ।
स्थानीय तह निर्वाचनमा ३ करोड ५८ लाख ५१ हजार ६ सय २० रुपैयाँ ९० पैसा खर्च भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाको विवरण छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाको विवरण अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र सदरमुकाम बाहिरका ८ वटा निर्वाचन अधिकृतको कार्यालयहरुको खर्च विवरण यसमा समावेश गरिएको छ । निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सबैभन्दा बढी १ करोड ४३ लाख ८९ हजार ७ सय ८३ रुपैयाँ ८० पैसा खर्च गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले १ करोड ३ लाख ३३ हजार ३ सय ९ रुपैयाँ १० पैसा खर्च गरेको छ । प्रत्येक स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले छुट्टाछुट्टै अख्तियारी प्राप्त गरी बजेट खर्च गरेका थिए । शैल्यशिखर नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाम बाहिर सर्वाधिक १६ लाख १ हजार ८ सय ३४ रुपैयाँ बजेट खर्च गरेको छ । मालिकार्जुन गाँउपालिकामा १५ लाख २१ हजार ३ सय रुपैयाँ, दुहुँ गाँउपालिकामा १४ लाख २ हजार १ सय ६९ रुपैयाँ ६९ पैसा र मार्मा गाँउपालिकामा १३ लाख ८१ हजार ३६ रुपैयाँ निर्वाचन व्यवस्थापनका लागि खर्च गरिएको छ । अपिहिमाल गाँउपालिकामा १३ लाख २८ हजार ७ सय ५० रुपैयाँ, लेकम गाँउपालिकामा १३ लाख ६ हजार ४ सय २९ रुपैयाँ, व्यास गाँउपालिकामा १२ लाख ९८ हजार ८ रुपैयाँ ११ पैसा र नौगाड गाँउपालिकामा १२ लाख ८९ हजार २ रुपैयाँ निर्वाचन व्यवस्थापन एवं सञ्चालनमा खर्च भएको छ । निर्वाचन व्यवस्थापन र सञ्चालनका लागि सदरमुकाम बाहिरका सबै निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आयोगले छुट्टाछुट्टै अख्तियारी पठाएको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले बताउनुभयो । सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन व्यवस्थापन र सञ्चालनका लागि छुट्टै अख्तियारी प्राप्त भएको थियो । अख्तियारी प्राप्त गरेका सबै कार्यालयले आआफ्नो खर्च विवरण निर्वाचन आयोगमा पठाइसकेको जिल्ला निर्वाचन अधिकारी पाण्डेले जानकारी दिनुभयो । निर्वाचनमा खटिएका कर्मचारी जनशक्ति, मतदाता शिक्षा र समन्वय, व्यवस्थापन तथा अनुगमनको खर्च मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट गरिएको छ । सदरमुकाम बाहिरका निर्वाचन अधिकृतको कार्यालयबाट सम्बन्धित स्थानीय तहको निर्वाचन कार्यालय व्यवस्थापन र मतगणनामा बजेट खर्च गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन प्रयोजनका लागि निकासा गरिएको सबै बजेट खर्च गरिएको छ । निर्वाचन आयोगबाट स्थानीय निर्वाचनका लागि दार्चुला जिल्लाभरीको प्राप्त अख्तियारी तथा बजेट ४ करोड ४७ लाख ४५ हजार ४ सय ५१ रुपैयाँ ८९ पैसा थियो । आयोगबाट प्राप्त बजेटमध्ये ८८ लाख ९३ हजार ८ सय ३० रुपैयाँ ९९ पैसा बजेट खर्च भएको छैन । जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सुरक्षा निकायबाट मतपेटिका ढुवानी र सुरक्षा व्यवस्थापनमा भएको खर्च भने यो विवरणमा समावेश गरिएको छैन । ती निकायहरुमा छुट्टाछुट्टै अख्तियारी प्राप्त भएको र खर्च पनि आआफ्नो कार्यालयमार्फत गरिएकोले निर्वाचन कार्यालयको विवरणमा समावेश छैन ।