बिटुलेको पुरानो झोलुंगे पुल डुबानमा,नयाँ पुल जोखिममा,, स्थानियहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
चमेलिया जलविद्युत् आयोजना निर्माण गरिएपछि बिस्थापित भएको बिटुले झोलुंगे पुल अहिले डुवानमा परेको छ । ७ नम्बर प्रदेशकै ठुलो आयोजनाको रुपमा निर्माण गरिएको चमेलिया जलविद्युत् आयोजनाको ड्याम साइट नजिकै रहेको बिटुले झोलुंगे पुल विस्थापित भएको थियो ।
बिटुलेमा वर्षाै पहिले निर्माण गरिएको झोलुंगे पुल ड्यामका कारण विस्थापित भएपछि सोही क्षेत्रमा आयोजनाले नयाँ पुल निर्माण गरेको थियो । चमेलिया जलविद्युत् आयोजनाले बिटुले शेरी जोड्ने नयाँ पुल निर्माण गरेपछि स्थानियहरुलाई आवत् जावत्मा केही सहज भएको थियो ।
तर अहिले चमेलिया जलविद्युत् आयोजनाका कारण नयाँ झोलुंगे पुल पनि जोखिममा रहेको छ । चमेलिया नदीले कटान गरेपछि नयाँ झोलुंगे पुल जोखिममा रहेको मार्मा गाउँपालिकाका वडा नम्बर ६ का स्थानिय दिपेन्द्रसिँह धामीले जानकारी दिनुभयो । चमेलिया जलविद्युत् आयोजनाको ड्यामसाईटमा पानी जम्मा गर्दा तथा गेट खोल्दा पानीको बहाबले नदी किनारमा कटान गर्दा नयाँ झोलुंगे पुल पनि जोखिममा रहेको उहाँको भनाई छ ।
पुरानो झोलुगे पुल निर्माण गरिएको स्थल होचो हुदाँ डुवान परेपछि आयोजनाले सो पुल भन्दा केही अग्लो स्थानमा नयाँ झोलुंगे पुल निर्र्माण गरिदिएको थियो । तर उक्त नयाँ पुल पनि नदी कटानले गर्दा जोखिममा रहेको मार्मा गाउँपालिका ६ कै अर्का स्थानिय बिक्रमसिँह धामीले बताउनु भयो ।“चमेलिया जलविद्युत् आयोजनाको न बत्ती बाल्न पायौँ न त ढुक्कले आवत् जावत् गर्न पायौ” धामीले दुखेसो पोख्दै भन्नु भयो । विद्युत् बाल्न नपाए पनि सुरक्षित यात्रा गर्न पाएपनि आफूहरु चित्त बुझाउनमा राजी भएको उहाँको भनाई छ । तर आयोजनाका कारण नयाँ पुल पनि जोखिममा रहदाँ आफूहरु दैनिक रुपमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको धामीले गुनासो गर्नु भयो ।
पुल भत्के नौगाढ गाउँपालिका समेत प्रभावित हुने 
मार्मा गाउँपालिका वडा नम्बर ३ तथा वडा नम्बर ६ जोड्न बिटुले झोलुंगे पुल भत्के मार्मा गाउँपालिकाबासीलाई मात्रै नभई नौगाड बासीलाई समेत समस्या हुने देखिएको छ । साविकको शेरी गाविस र लटीनाथ गाविसलाई जोड्ने झोलुंगे पुल हुदैँ मार्मा गाउँपालिकाका स्थानियहरु मात्रै नभई नौगाढ गाउँपालिकाका स्थानिय तथा नौगाड र मार्मा गाउँपालिका प्रबेश गर्नेहरुलाई समेत सोही पुलको माध्यमबाट आवत् जावत् गर्ने गरेका छन् ।
नौगाड गाउँपालिकाको सिप्टी, होपरी लगायतका स्थानियहरु पनि सोही पुलको माध्यमबाट बैतडीको गन्ना बसपार्क हुदै अन्यत्र जाने गरेका छन् । त्यस्तै मार्मा गाउँपालिकाको मुख्य गरी शेरीका स्थानियहरुको मुख्य बजार क्षेत्र बिटुले भएकाले पनि सोही पुलको माध्यमबाट आवत् जावत् गर्न गरेका छन् । चमेलिया नदीले कटान गरी बिटुले झोलुंगे पुलमा आवत् जावत् अवरुद्ध भएमा मार्मा गाउँपालिकाका मात्रै नभई नौगाड गाउँपालिकाका स्थानियहरुलाई समेत आवत् जावत्मा ठुलो समस्या हुने स्थानिय विक्रमसिँह धामीले बताउनु भयो ।
ड्यामसाइटमा पक्की तटबन्धको अबाश्यकता 
चमेलिया जल विद्युत् आयोजनाको ड्यामसाईटमा पक्की तटबन्धको आबश्यकता देखिएको छ । चमेलिया नदीले ड्यामसाईट क्षेत्रमा कटान गर्न थालेपछि बिटुले झोलुंगे पुल जोखिममा पर्नुका साथै विभिन्न बस्तीहरु समेत जोखिममा परेका छन् ।
मार्मा गाउँपालिकाको शेरीका स्थानियहरुको मुख्य बजार क्षेत्र बिटुले बजार क्षेत्र नै नदी कटानको जोखिममा रहेको छ । ड्याम साईट नजिकै रहेको बिटुले बजार क्षेत्र नदी कटानको उच्च जोखिममा रहेको छ । उक्त क्षेत्रमा तटबन्ध निर्र्माण नगरिदाँ बजार क्षेत्र जोखिममा रहेको स्थानिय व्यापारी दिपेन्द्रसिँह धामीले बताउनु भयो । त्यस्तै घोरेटो बाटो समेत कटानको जोखिममा रहेकाले पक्की तटबन्धको आबश्यकता रहेको त्यहाँका स्थानियहरुको माग छ । ड्यामकै कारण ड्यामसाईट नजिकै बिटुले पारीबगड जोड्ने सडक खण्ड समेत अबरुद्ध भएको छ । नदीले कटान गरेपछि सडक भासिँदा सडक अबरुद्ध भएको जीप चालक दिलेन्द्रसिँह धामीले जानकारी दिनुभयो । चमेलिया नदी किनार क्षेत्रमा पक्की तटबन्ध निर्माण नगरिए महाकाली बाढीले खलंगामा निम्त्याएको वितन्डा दोहोरिने चिन्ना मार्मा बासीमा छ ।