दार्चुलाका तीनै नेकपा सांसदहरु जनतासंग भेटघाँटमा,, गोकुलेश्वरमा तबन्ध निर्माण गरिने, बन्द गोकुलेश्वर एयरपोर्ट सञ्चालनका लागि संयुक्त पहल ।।
नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेश सभा सांसद अहिले जनताहरुसंगको भेटघाँटमा रहेका छन् । शुक्रबार साँझ मात्रै गृह जिल्ला दार्चुला आइपुगेका नेकपा सांसदहरु अहिले जनताहरुको समस्या, असुविधाहरुको जानकारी लिन घरदैलो अभियानमा ओर्लिएका छन् ।
प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्ना, प्रदेशसभा सांसदद्धय गेल्बुसिँह बोहरा र मानबहादुर धामी सन्तोष, मार्मा गाउँपालिकाका अध्यक्ष जमन धामी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्याल डिएन घाँजिरेल लगायतको टोली जनता संग भेटघाँट कार्यक्रममा व्यस्त रहेका छन् । निर्वाचनका बेला जसरी घरदैलो अभियान सरिक भएजस्तै अहिले निर्वाचित भएपश्चात् जनताको समस्या, असुविधा लगायतका बारेमा जानकारी लिन जनता संग भेटघाँट गर्न लागिएको प्रतिनिधि सभा सांसद गणेशसिँह ठगुन्नाले बताउनु भयो ।
निर्वाचनका बेला तीनै सांसद देखिएपनि त्यस पश्चात् एकसाथ बिरलै देखिएका दार्चुलाका नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसदत्रय अहिले भने तीनै सांसद सहित नेकपाबाट निर्वाचित स्थानीय सरकार प्रमुखहरु लगायतको संयुक्त टोली अहिले जनताहरुसंग भेटघाँटमा व्यस्त रहेका छन् । दशैतिहारको शुभकामना आदान प्रदान तथा जनताका गुनासो, समस्याहरु, असुविधाका बारेमा जानकारी दिन चुनाबी प्रचारको बेला जस्तै जनतासंग भेटघाँट गरिरहेका छन् ।
शुक्रबार मात्रै गृह जिल्ला पुगेका नेकपा सांसद त्रय तथा गाउँपालिका अध्यक्षद्धले शनिबार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जनताहरुसंग भेटघाँट कार्यक्रम गरेका थिए । भेटघाँटका कार्यक्रममा बन्द गोकुलेश्वर विमान स्थल सञ्चालनका लागि तीनै सांसदले संयुक्त रुपमा पहल गरिरहेको बताएका छन् । अहिले स्थानीय तहदेखि प्रदेश तथा संघीय सरकार समेत नेकपाकै भएकाले जिल्लाका नेकपा सांसदहरुले पहल गर्न सजिलो हुने भन्दै बन्द गोकुलेश्वर विमान स्थल सञ्चालन हुने आशा जनताहरुमा पलाएको छ । विगतमा पनि दार्चुलाबाट निर्वाचित सांसदहरुले विमान स्थल सञ्चालनका लागि पहल गर्ने जनताका आशा निराशा भएका थिए । यस्तै अहिले दार्चुलाबाट निर्वाचित सांसद एकै दलका र संघीय सरकार पनि सोही पार्टीको नेतृत्व भएकाले विमान स्थल सञ्चालन हुनेमा बढीजसो नागरिकहरु ढुक्क देखिएका छन् ।
तलदेखि माथि सम्म बहुमतको सरकार हुदाँहुदै पनि नेकपाले काम गर्न नसके ५ वर्ष पश्चात् नेकपा प्रतिको जनताको विश्वास विलाउने विश्लेषकहरुको टिप्पणी छ । बहुमतको दम्भ भन्दा पनि जिल्लाको अवस्था र जनताको दर्गतीलाई चिन्तन मनन गरी विकासबादी सोच बनाए नेकपाका नेताहरुको भविष्य अन्य दलको भन्दा फरक हुने टिप्पणी राजनीतिक विश्लेषकहरुले गर्ने गरेका छन् । अहिलेको समय देश बनाउने र समृद्धिको बाटोमा राष्ट्रलाई डो¥याउने उत्तम समय रहेकाले यो समय चुके फेरी मौका आउलाँ भन्न नसकिने नेकपाकै जिल्ला नेताहरुले विश्लेषण गर्ने गरेका छन् ।
यस्तै गोकुलेश्वर बजार क्षेत्रलाई जोगाउनका लागि चौलानी नदी किनारमा तटबन्ध निर्माण गरिने भएको छ । गोकुलेश्वर बजार क्षेत्र चौलानी नदीले कटान गर्ने उच्च जोखिम रहेकाले तटबन्ध निर्माणका गरिने तीनै सांसदले प्रतिबद्धता जनाएका छन् । यस्तै गोकुलेश्वरमा तटबन्ध निर्माण गरिने भएपछि गोकुलेश्वरमा तटबन्ध योजनाको कार्यालय समेत स्थापना गरिने भएको छ ।
25