लेकममा चौलानी लिफ्टीङद्धारा खानेपानी आपूर्ति गरिने, प्राविधिक शिक्षाका लागि १ करोड बजेट विनियोजन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
लेकम गाउँपालिकामा देखिएको चरम खानेपानीको अभाव अब चौलानी लिफ्टीङ खानेपानी योजनाबाट समस्या समाधान हुने भएको छ । लेकम गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव रहेको छ ।
सडक सञ्चालले छुन नसकेको लेकम गाउँपालिकाका विभिन्न बस्तीका नागरिकहरुले शुद्ध खानेपानी समेत प्रयोग गर्न पाइरहेका छैनन् । जलस्रोतका आधारमा विश्वकै दोस्रो धनी देशको रुपमा चिनिने हाम्रो देशमै खानेपानीको चरम अभाव हुनु लज्जास्पद कुरा भएको टिप्पणी हुने गरेको छ ।
यसरी लेकम गाउँपालिकामा खानेपानीको चरम अभाव देखिएपछि दार्चुलाबाट निर्वाचित नेकपा सांसदहरुले प्रदेश तथा संघीय सांसदहरुले आ–आफ्नो क्षेत्रबाट खानेपानीको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । साथै चौलानी लिफ्टिङ खानेपानी योजनाबाट खानेपानी आपूर्ति गर्न लागिएको विश्वास नेकपा सांसदहरुले दिएका छन् ।
यस्तै लटीनाथ मावि चन्दनपुर चौपतामा प्राविधिक शिक्षा सुधारका लागि १ करोड बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाले बताएका छन् । उक्त विद्यालयमा छात्राबास सहितको गुणस्तरीय प्राविधिक शिक्षालय स्थापित गर्ने उद्देश्यले १ करोड बजेट विनियोजन गरिएको बताउनु भएको छ । लेकम गाउँपालिकालाई सडक सञ्जालले नछोएकाले ऐरीछाना धनथला सडक निर्माणलाई गति दिइने, सञ्चार क्षेत्रलाई प्राथमिकता दिइने प्रतिबद्धता नेकपा सांसदहरुले गरेका छन् ।
लेकम गाउँपालिकामा आज भएको कार्यक्रममा सांसद त्रय, मार्मा र अपिहिमाल गाउँपालिकाका अध्यक्ष, लेकम गाउँपालिकाका अध्यक्ष परमानन्दा जोशी, उपाध्यष माधबी जोशी, वडा नम्बर २ का वडाध्यक्ष, लाली क्याम्पसका प्राचार्य, गल्लाकेदार मावि खरकडाका प्रधानाध्यापक लगायतका सहभागिता रहेको नयाँ नपाल सहकर्मी दिपक दमाईले खबर पठाउनु भएको छ ।