विजयपुर काटियो, एक महिनाभित्रै सुन्सेरा सडक ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
लामो समय निर्माण अबरुद्ध भएको दार्चुला तिंकर सडकले अब भने सुन्सेरासम्म निर्माण गति पाउने भएको छ ।
दुहुँ गाउँपालिकाको वडा नम्बर १ विजयपुर भिरका कारण अगाडि बढ्न नसकेको दार्चुला तिंकर सडक निर्माण कार्य विजयपुरको भिर काटेपछि सजिलो भएको हो ।
करिब तीन महिना लगाएर विजयपुर भिरको पहरो काटेर उक्त क्षेत्रमा ट्रयाक खुलेको दार्चुला तिंकर सडकका ईन्जिनियर दिनेश रैखोलाले जानकारी दिनुभएको छ । उक्त भिरमा ट्रयाक निर्माण गर्न तिन महिना मात्रै लागेको छैन, १ सय २५ किलो जिलेटिन समेत प्रयोग गरिएको छ ।
करिब १ सय ७० मिटर कडा चटनी भागमा ट्रयाक खोल्नु परेकाले समय लागेको ईन्जिनियर रैखोलाले जानकारी दिनुभएको छ । उक्त क्षेत्रमा ट्रयाक खोल्ने काम जागृति र तुल्सी दुर्गा तथा सार्प निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का पाएका थिए ।
तिंकर सडकले ट्रयाक खोल्न कै लागि निजी कम्पनीसँग ९ हजार ३ सय किलोग्राम जिलेटिन सापट ल्याएको थियो । सापट ल्याएको जिलेटिन नेपाली सेनाको निगरानीमा विजयपुर भिरमा पट्काएर भिरको ट्रयाक खोलिएको दार्चुला तिंकर सडक कार्यालयले जानकारी दिएको छ ।
अप्ठेरो भिर काटिएको छ, तिहारका कारण काम बन्द भएन भने एक महिना मै सुन्सेरासम्म ट्रयाक खुल्ने बताउँदै दार्चुला तिंकर सडकका ईन्जिनियर रैखोलाले राताकाठा क्षेत्रको सडक सुधार गर्न पनि तत्कालै काम सुरु गरिने बताउनु भयो ।
खलंगाबाट विजयपुरसम्मको २६ किलोमिटर ट्रयाक खुलिसकेको र विजयपुरबाट सुन्सेरासम्मको १४ किलोमिटर सडकको ट्रयाक एक महिनाभित्रै खोली ४० किलोमिटर सडकको ट्रयाक एक महिनाभित्रै तयार हुने ईन्जिनियर रैखोलाको भनाई छ ।
तिंकर सडकले यही आर्थिक वर्षमा सिल्लेक बाराकोट क्षेत्रको २७ किलोमिटर क्षेत्रमा पनि सडक निर्माण गर्ने काम गरिरहेको छ । उक्त क्षेत्रमा ६ मेसिनले काम गरिरहेको कार्यालयले जानकारी दिएको छ । सिल्लेकबाट बाराकोटतिर ४ र बाराकोटबाट सिल्लेकतिर २ मेसिन गरी ६ मेसिन लगाएर सडकको ट्रयाक खोल्ने काम भई रहेको ईन्जिनियर रैखोलाले बताउनु भयो ।
सडकको अवस्था बुझ्न व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी सडक निर्माण स्थल पुगेका थिए । बुढाथोकीले सडक निर्माणको अवस्थाका वारेमा निर्माण व्यावसायी र कामदारहरुसँग कुराकानी गरेको सहकर्मी मानसिह कुवँरले खबर पठाउनु भएको छ ।