कालापानी पुग्ने बाटो निर्माण कार्य अन्तिम चरणमा ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाको बहुचर्चित कालापानी क्षेत्रमा पुग्ने बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पञ्चायतकालमा निर्माण गरिएको घोरेटो बाटोलाई मर्मत गरी सञ्चालनमा ल्याउन व्याँस गाँउपालिकाले चालु आर्थिक वर्षमा ६ लाख बजेट समेत विनियोजन गरेको थियो ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीसम्म पुग्ने बाटो मर्मतका लागि व्याँस गाँउपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा नम्बर १ का वडाध्यक्ष अशोकसिँह बोहराले जानकारी दिनुभयो । बाटो सञ्चालन गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने स्थानीय सरकारको योजना छ ।
मर्मत कार्य सञ्चालन भइसकेको कालापानी पुग्ने घोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको उपभोक्ताले जानकारी गराएका छन् । बाटो निर्माण कार्य मर्मत भएको छ वा इस्टिमेट अनुसार भएको छैन सो को बारेमा भने प्राविधिकहरुको टोलीले स्थलगत अनुगमन पश्चात् मात्रै भन्न सकिने वडा नम्बर १ का वडाध्यक्ष बोहराको भनाई छ । केही दिनमै प्राविधिकहरुको टोलीले बाटोको अवलोकन गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो ।
कालापानीको चर्चा स्थानीय र राष्ट्रियस्तरमा धेरै भएकाले त्यसक्षेत्रमा भ्रमण गर्न चाहनेहरुलाई प्रोत्साहित गर्न खोजिएको हो । प्राकृतिक सुन्दरता, हिमाली क्षेत्र र ओम पर्वतको दर्शन लगायतको महत्व भएकाले कालापानीसम्मको बाटो मर्मत गर्ने व्यास गाँउपालिकाले जनाएको छ ।
छाङरुदेखि कालापानीसम्म करिब १३ किलोमिटर लामो घोरेटो बाटो रहेको छ । करिब एक दर्जन स्थानमा बाटो मर्मत गर्नुपर्ने अवस्था थियो । सो क्षेत्रहरु लगायतका क्षेत्रमा मर्मत गरी सञ्चालनमा घारेटो बाटो सञ्चालनमा ल्याउन लागिएको वडाध्यक्ष बोहराको भनाई छ ।