दार्चुलाका नौवटै स्थानीय तहमा नेकपाको भागबण्डा टुंगियो,, तत्कालिन एमालेको भागमा ५ अध्यक्ष र माओबादीलाई चार ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच भएका एकिकरण पश्चात् केन्द्र देखि स्थानीय तहसम्म भागबण्डा मिलाउने क्रम चलिरहेको छ । केन्द्र तथा प्रदेश स्तरीय कमिटिमा भागबण्डाको टुंगो यसअघि नै लागि सकेपनि स्थानीय तहमा टुंगो लगाउन बाँकी रहेको थियो । यस्तै जिल्ला स्तरमा पनि मोटामोटी भागबण्डा लगाइसकेको छ ।
यसैबीच नेकपाले दार्चुला जिल्लाका नौ ओटै स्थानीय तहमा भागबण्डा लगाएको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये ५ स्थानीय तहको अध्यक्षमा तत्कालिन एमालेलाई दिइएको छ भने ४ स्थानीय तहमा तत्कालिन माओबादी केन्द्रले पाएको छ । अध्यक्ष एक पार्टीको र सचिव अर्काे पार्टीलाई पर्ने गरी भागबण्डा टुंग्याइएको नेकपा जिल्ला नेता उदयसिँह बडालले जानकारी दिनुभयो ।
व्याँस गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यशखिर नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिका गरी पाँच स्थानीय तहमा अध्यक्ष पदको जिम्मेवारी तत्कालिन एमालेले पाएको छ भने महाकाली नगरपालिका, दुहूँ गाउँपालिका, लेकम गाउँपालिका र नौगाढ गाउँपालिका गरी चार स्थानीय तहको जिम्मेवारी तत्कालिन माओबादीले पाएको छ ।
महाकाली नगरपालिकामा माओबादीलाई अध्यक्ष पद दिइएको छ भने एमालेलाई सचिव पद दिइएको छ । अध्यक्षमा खडकसिँह धामी अध्यक्ष र बहादुरसिँह खाती सचिव रहने गरी टुंगो लगाइएको नेकपा नेता बडालले बताउनु भयो । यस्तै शैल्यशिखर नगरपालिकामा विजयसिँह धामी अध्यक्ष र मोहनसिँह साउँद सचिव, व्याँस गाउँपालिकामा नागेन्द्र तिंकरी अध्यक्ष तथा उपेन्द्र सिँह कुवँर सचिव रहने गरी बागबण्डा टुंग्याइएको छ ।
त्यस्तै दुहूँ गाउँपालिकामा मनोरथ भट्ट अध्यक्ष र सचिवमा प्रेमसिँह कार्की, मालिकार्जुन गाउँपालिकामा हरकसिँह ठगुन्ना अध्यक्ष, सचिवमा कृष्णराज पन्त रहने गरी बागबण्डा मिलाइएको छ । यस्तै नौगाढ गाउँपालिकामा दल्जितसिँह धामी अध्यक्ष, सचिवमा नरेन्द्रसिँह ठगुन्नालाई जिम्मेवारी दिइएको छ । मार्मा गाउँपालिकाको अध्यक्षमा देवसिँह महर अध्यक्ष, धिरेन्द्रसिँह धामी सचिव र अपिहिमाल गाउँपालिकामा पोखरसिँह राकोया अध्यक्ष तथा जीवन लोथ्याल सचिव रहने गरी स्थानीय तहमा पनि टुंगो लगाइएको नेकपा नेता उदयसिँह बडालले जानकारी दिनुभयो ।
अधिकांश स्थानीय तहको अध्यक्षमा स्थानीय निर्वाचनमा अध्यक्ष पदमा पराजित उम्मेदवारहरुलाई नेकपाले अध्यक्ष बनाएको छ । महाकाली नगरपालिकामा खडकसिँह धामी, मार्मा गाउँपालिकामा देवसिँह महर, नौगाढ गाउँपालिकामा दल्जितसिँह धामी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी हुनुहुन्थ्यो ।
यस्तै दार्चुला जिल्लामा जिल्ला कमिटिको समेत बागबण्डा टुंगो लागि सकेको छ तर सार्वजनिक हुन बाँकी रहेको नेकपा जिल्ला नेता उदयसिँह बडालले बताउनु भयो । नेकपा दार्चुलाको जिल्ला कमिटि अध्यक्षमा गणेश खत्री र सचिवमा उदयसिँह बडालल हुने नाम सिफारिस भएको छ तर सार्वजनिक हुन बाँकी रहेको नेता बडालले बताएका छन् ।