दार्चुलाका ६ जना उत्कृष्ट पत्रकार पुरस्कृत ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
यस वर्षको कालापानी सिर्जशील पत्रकारिता पुरस्कार २०७५ पत्रकार सन्तोष कोट्टारीलाई प्रदान गरिएको छ । २०६८ सालबाट मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारहरुलाई प्रदान गर्दै आएको कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार यो वर्ष सामुदायिक रेडियो नयाँ नेपाल एफ एमका पत्रकार कोट्टारीलाई प्रदान गरिएको हो ।
सुशासन र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपाल दार्चुलाको एघारौँ वार्षिक साधारण सभा तथा सामुदायिक रेडियो नयाँ नेपालको आँठौँ वार्षिकोत्सवको अवसरमा सामुदायिक रेडियो नयाँ नेपाल एफ एममा कार्यरत कोट्टारी पुरस्कृत भएका छन् । २०७२ साल चैत्र २४ गतेदेखि रेडियो सामुदायिक रेडियो नयाँ नेपाल एफ एमबाट पत्रकारिता क्षेत्रमा प्रबेश गरेका कोट्टारी यस वर्षको कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार २०७५ प्राप्त गरेका छन् ।
संस्थाले २०६८ सालबाट हरेक वर्ष मिहनेत, परिश्रमि र सिर्जनशील पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ । सुरुको वर्ष २०६८ सालमा कालापानी पोष्ट साप्ताहिकमा कार्यरत पत्रकार लोकेन्द्र बम, २०६९ मा दार्चुला सन्देश दैनिक पत्रिकामा कार्यरत बीरेन्द्र महरा, २०७० सालमा रेडियो नयाँ नेपालका पत्रकार कृष्णसिँह धामी यस पुरस्कारबाट पुरस्कृत भएका थिए । यस्तै २०७१ मा कालापानी एफ एमका भागरथी भट्ट, २०७२ मा कान्तिपुर दैनिकका जिल्ला संबाददाता मनोज बडु, २०७३ मा दार्चुला एफ एमका किरण धामी, २०७४ मा सारथी एफ एमका लोकेन्द्र जोशीलाई प्रदान गरिएको थियो । यो वर्षको पुरस्कार पत्रकार सन्तोष कोट्टारीलाई प्रदान गरिएको हो ।
सुशासन र क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपाल दार्चुलाले सृजनाशील पत्रकारहरुलाई प्रोत्साहन गर्न अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ५ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यस्तै डिडिया विकास समाज नेपाल दार्चुलाले विभिन्न सञ्चार माध्यमा कार्यरत उत्कृष्ट कार्य सम्पादन गर्ने पत्रकारहरुलाई समेत पुरस्कृत गर्दै आएको छ । यो वर्ष पनि विभिन्न सञ्चार माध्यममा कार्यरत ५ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।
मिडिया विकास समाज नेपालका आजीवन सदस्य राजेन्द्र विष्ट, रेडियोमा उत्कृष्ट काम गर्ने सामुदायिक रेडियो नयाँ नेपाल एफ एममा कार्यरत रेडियोकर्मी ईश्वरी बुढाथोकी, मालिकार्जुन एफ एमका रेडियोकर्मी गोकर्ण मिश्रलाई पुरस्कृत गरिएको छ । यस्तै दार्चुला सन्देश दैनिकका पत्रकार जनकराज भट्ट र कालापानी पोष्ट साप्ताहिक पत्रिकाका पत्रकार किसनसिँह धामी उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका छन् ।