वडा कार्यालय भवनमा बर्थिङ सेन्टर उद्घाटन ।। 

नयाँ नेपाल समाचार, दार्चुला ।
देश संघीयतामा गएपछि थुप्रै संरचनाहरु परिबर्तन भएका छन् । यसरी परिबर्तन भएका संरचनाहरु भवन अभावमा कोही भाँडामा सञ्चालन भइरहेका छन् भने कोही अन्य संस्थाको भवनमा सञ्चालन भइरहेका छन् ।
देश संघीयतामा गएपछि देशभरीका ५ विकास क्षेत्र परिबर्तन भएर ७ ओटा प्रदेश निर्माण गरिएको छ भने ७५ जिल्लाको ७७ जिल्ला बनाइएको छ । यस्तै साविकका १४ अञ्चलहरु पनि हराउने देखिएको छ । पछिल्लो समय परिवर्तित संरचनामा अञ्चलको संरचना नै उल्लेख गरिएको छैन । 
यस्तै विगतका स्थानीय निकायहरु स्थानीय तहमा परिबर्तन भएका छन् भने जिल्ला विकास समितिको कार्यालय जिल्ला समन्वय समितिमा परिबर्तन गरिएको छ । यस्ते थुप्रे गाविसहरु वडामा परिबर्तन भएभने केही गाविसहरु मिलाएर स्थानीय तह निर्माण गरिए ।
दार्चुला जिल्लामा मात्रै साविकका ४१ गाविसहरुलाई मिलाएर ९ ओटा स्थानीय तह निर्माण गरिएका छन् भने ६१ वडा बनाइएको छ । दार्चुला जिल्लाका विभिन्न वडा कार्यालयहरु साविकका गाविस भवनमा स्थापित भएका छन् भने बाँकी वडा कार्यालयहरु अन्य संघ संस्थाको भवनमा स्थापित भएका छन् । यस्तै दार्चुला जिल्लाका कतिपय वडा कार्यालयहरु घर भाडामा लिएर समेत सञ्चालन भइरहेका छन् । 
दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्र समेत समेटिएको महाकाली नगरपालिकासंग समेत आफ्नै भवन अभाव रहेको छ । आफ्नो साघुरो भएको भन्दै महाकाली नगरपालिकाले निजामति कर्मचारी आवास गृहको एउटा भवन प्रयोग गरिरहेको छ । यस्तै दार्चुला जिल्लाका कतिपय स्थानीय तहहरुसंग आफ्नो भवन अभाव झेलिरहेका छन् ।
यस्तै दुहू गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय पनि केयर नेपालको सामुदायिक भवनमा स्थापित भएर सेवा प्रबाह गरिरहेको वडा नम्बर ४ का वडाध्यक्ष गोपालसिँह कार्कीले जानकारी दिनुभयो । साविकको गाविस भवन रहेको क्षेत्रमा पछिल्लो समय पुनः निर्माण कार्य भइरहेको वडाध्यक्ष कार्कीले बताउनु भयो । निर्माण कार्य अन्तिम चरणमा पुगेको दुहूँ गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयका भवनमा आज स्वास्थ्य चौकी धारीको बर्थिङ सेन्टर उद्घाटन गरिएको छ ।
स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवं वडा नम्बर ४ का वडाध्यक्ष गोपालसिँह कार्कीको अध्यक्षता एवं दुहूँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशी र वडा नम्बर ५ का वडाध्यक्ष दौलतसिँह महर विशिष्ट अतिथि रहेको स्वास्थ्य चौकी धारीका स्वास्थ्य चौकी प्रमुख मोहनसिँह धामीले जानकारी दिनुभयो ।
आज आकस्मिक कोष समेत स्थापना गरिएको छ । आर्थिक स्थिति कमजोर भएका सेवाग्राहीहरुलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको नयाँ नेपाल सहकर्मी मानसिँह डडालले खबर पठाउनु भएको छ ।