रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

image not found

पाटन क्षेत्रमा संकलकसँगै घटे यार्शा पनि

दार्चुला सामाचार , 
गत वर्ष १५ सय यार्शा ल्याएर पाटन क्षेत्रबाट घर फर्किएका हिकिला गाविस वडा नम्बर १ का कृष्णसिह बडाल यस वर्ष अढाइ सय यार्शा मात्रै लिएर फर्किएका छन् । यार्शा संकलन गर्न पाटन जाने बेला बिगत वर्षहरु जस्तै झण्डै ३५ हजार खर्च गरेर घुसा गाविसमा पर्ने सत्गंगा पाटन क्षेत्र पुगेका पिपलचौरी ६ का रामसिह महर यार्शा संकलन गरेर फाइदा पाउने आशामा त छँदै छैनन्, ३५ हजार पनि उठ्ने हो कि होइन भन्ने चिन्तामा छन् । गत वर्ष प्रत्येक दिन १५ लिटरको राइस कुकरमा भात पकाएर पाटन क्षेत्रमा आउने संकलकलाई खुवाउने गरेको बताउने सितोला गाविसमा पर्ने चाइमटेला क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका सितोला ६ का गौरलालसिह महता यो वर्ष मुस्किलले छ सात जनाले खाना खाने गरेको बताउँछन् । झण्डै ७ वर्ष देखि उक्त क्षेत्रमा व्यापार गर्दै आएका महता यो वर्ष संकलकहरु पाटन क्षेत्रमा निक्कै कम आएको बताउँछन् ।
कसरी कम भए संकलक
गत वर्षसम्म पाटन क्षेत्रमा जाने संकलकहरुले स्थानीय स्तरमा गठन भएका क्लबहरु र गाविसले तोकेको समितिलाई उनीहरुले तोके अनुसारको चन्दा बुझाउँथे र निर्वाध पाटन क्षेत्रमा यार्शा संकलन गर्दथे तर यो वर्षबाट अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले ‘यार्शागुम्बा व्यवस्थापन मार्ग निर्देशिका’ बनाएर पाटन क्षेत्रमा जाने संकलकहरुको लगत राख्ने निर्णय गर्यो । यही निर्णयको कार्यान्वयन गर्दा पाटन क्षेत्रमा संकलकहरु कम भएको देखिन्छ । ‘प्रत्येक संकलकहरुले अनिवार्य रुपमा संकलक परिचय पत्र बनाउनु पर्ने प्रावधानले पाटन क्षेत्रमा असिमित हुँदै गएको मावन उपस्थिति कम गराएको हो ।’ अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताउनु भयो । 
संरक्षण क्षेत्रले परिचय पत्र अनिवार्य मात्रै गराएन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय संरक्षण समिति र मिडियाकर्मीहरु परिचालन गरेर उक्त कार्यको अनुगमन समेत गरायो । परिचय पत्र अनिवार्य गर्ने र अनुगमन समेत गर्ने भन्ने प्रचारप्रसार समेत गाउँगाउँ पुगेकाले परिचय पत्र लिएर मात्रै संकलन क्षेत्रमा जान स्थानीयलाई बाध्य बनायो । यति मात्रै नभएर संरक्षण क्षेत्रभित्र, संरक्षण क्षेत्रबाहिर तर जिल्लाभित्रका संकलक तथा जिल्ला बाहिरका संकलकहरुलाई संकलन परिचय पत्रबाफत क्रमशः ५ सय, १ हजार र १५ सय रुपैयाँ शुल्क समेत तोकियो । आर्थिक अवस्था कमजोर भएका र टाढाबाट आउनेले रकम खर्च गर्ने आँट नदेखाउँदा पनि पाटन क्षेत्रमा संकलकहरु कम देखिएको प्रमुख संरक्षक अधिकृत उपाध्यायले बताउनु भयो ।
संकलकहरु जस्तै यार्शा पनि घटे 
‘यो वर्ष पाटन क्षेत्रमा संकलकहरु मात्रै घटेका होइनन्, यार्शागुम्बा पनि घटेका छन् ।’ पाटन क्षेत्रबाट फर्किदै गरेका पिपलचौरी गाविस वडा नम्बर ६ का मोहनसिह मरहले भन्नुभयो । गत वर्ष १५ सय यार्शा ल्याएका हिकिलाका कृष्णसिह बडाल अढाइ सय यार्शा मात्रै पाएको भन्दै मौसम र व्यवस्थापकलाई सराप्दै थिए । ‘हिउँ पनि परेन, परेको हिउँ वैशाख मै सकियो, पाटनहरु जेठ १ गतेबाट मात्रै खोलियो, अनि कसरी धेरै यार्शा पाइन्थ्यो ।’ उहाँले भन्नुभयो ।पाटन क्षेत्रमा एकै दिनको हिडाइबाट पुग्ने गाउँका युवाहरुले यार्शा अलि बढि पाएको बताउने बडाल आफू पाटन क्षेत्रमा पुगिसक्दा अगाडि नै सो क्षेत्रमा पुगेका संकलकहरुले यार्शा संकलन गरिसकेको बताउँछन् । यो वर्ष पाटन क्षेत्रमा हिउँ कम परेकोले यार्शा कम पाइएको संकलकहरुको भनाई छ । ‘हिउँ कम पर्यो, पानी मात्रै पर्दा पाटन क्षेत्रमा घाँस पलायो र यार्शा पाइन छोड्यो ।’ झण्डै १० वर्षदेखि यार्शा संकलन गर्दै आएका सितोला गाविस वडा नम्बर ४ का ललित महताले भन्नुभयो । गत वर्ष पनि यार्शाले अघिल्लो वर्षको जस्तो मूल्य नपाएको बताउने स्थानीय व्यापारी देवसिह महर यो वर्ष पनि यार्शाको मूल्य कति हुने भन्नेमा यकिन नभएको बताउनुहुन्छ । ‘यार्शा पनि कम पाइएको छ, मूल्य पनि यकिन हुन सकेको छैन, त्यसैले अहिलेसम्म यार्शा खरिद गरेको छैन ।’ उहाँले भन्नुभयो । जलवायुमा आएको परिवर्तनका कारण भएको मौसम परिवर्तनका कारण पनि यार्शा कम पाइएको हुन सक्ने संरक्षण अधिकृत उपाध्यायले बताउनु भयो । ‘तर यार्शा कम हुनुको एक मात्र कारण जलवायु परिवर्तन होइन ।’ उहाँले भन्नुभयो । जलवायु परिवर्तनसँगै गत बिगतमा पाटन क्षेत्रमा मानिस, चौपायले गरेको दोहन तथा पाटन क्षेत्रमा भएको वन फडानी पनि यार्शा कम हुने कारण भएको उहाँले बताउनु भयो ।
कसरी हुन्छ व्यापार 
संकलकहरुबाट स्थानीय व्यापारीले गोटा, तोला र ग्रामका हिसाबले यार्शा खरिद गर्दछन् । संकलकहरुले प्रतिगोटा २ सय ५० देखि १२ सयसम्म पाउँछन् । ‘यार्शाको मोटाइ र लम्बाइ हेरेर मूल्य निर्धार हुन्छ ।’ यार्शा व्यापारी शोभानसिह ठगुन्नाले भन्नुभयो । त्यसैगरी गत वर्ष प्रतिकिलो १५ लाखदेखि २४ लाख सम्ममा यार्शा खरिदबिक्रि भएको उहाँले बताउनु भयो । ‘यो वर्ष बाहिरका व्यापारी पनि आएका छैनन्, मूल्य खासै निर्धारण भई सकेको छैन् ।’ उहाँले भन्नुभयो ।संरक्षण क्षेत्र कार्यालयबाट संकलन पूर्जि लिएर स्थानीय व्यापारीहरु संकलकहरुले संकलन गरेका यर्शा खरिद गर्दछन् र कार्यालयबाटै छोडपूर्जि लिएर जिल्ला बाहिरका व्यापारीहरुलाई बेच्छन् । यसरी संकलकहरुबाट खरिद गरि जिल्लाबाहिरका व्यापारीलाई बेच्दा किलोमा २ देखि ६ लाखसम्म फाइदा आउने व्यापारीहरु बताउँछन् ।
जिल्ला शिक्षा कार्यालयको अभियान सफल
यार्शा संकलन क्षेत्रमा संकलकहरु कम हुनुमा जिल्ला शिक्षा कार्यालयले गरेको परिपत्रले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । बिगत वर्षहरुमा विद्यालयहरु समेत बन्द गरेर विद्यार्थीहरु यार्शा संकलन गर्न पाटनतिर हानिन्थे तर यो वर्ष यार्शा संकलनकै लागि भनेर कुनै पनि विद्यालय बन्द भएनन् । विद्यालय बन्द मात्रै नभएको होइन गत वर्षको तुलनामा पाटन क्षेत्रमा विद्यार्थी नै नगएको सल्लेधार मावि सितोलाका शिक्षक गगनसिह कार्कीले बताउनु भयो ।
विद्यार्थीको पठन पाठन र शिक्षाको वार्षिक कार्य योजनामा नै असर पर्ने भन्दै जिल्ला शिक्षा कार्यालय दार्चुलाले विद्यालय बन्द गरेर यार्शा संकलन गर्न कार्यमा संलग्न हुन पूर्ण रोक लगाएकाले विद्यार्थीहरु यार्शा संकलन नगएको जिल्ला शिक्षा अधिकारी डा. बाबुराम ढुंगानाले बताउनु भयो । विद्यालय बन्द नहुने र पठन पाठन निरन्तर हुन भएपछि विद्यार्थीहरु बिगत वर्षहरुमा जस्तो यार्शा खोज्न नआएको यार्शा संकलन क्षेत्रमा भेटिएका सिप्टी गाविस वडा नम्बर ६ का कलावती ठगुन्नाले बताउनु भयो ।यसका लागि जिल्ला शिक्षा कार्यालयले विद्यालय निरीक्षक, स्रोतव्यक्ति र प्रधानाध्यापकहरुलाई समेत बोलाएर निर्देशन दिएको थियो । विद्यालय निरन्तर खुल्ने भएपछि कक्षा ८ र १० मा पढ्ने कुनै पनि साथिहरु यार्शा संकलन गर्न नआएको अपिपथप्रदर्शक मावि सेरिमा कक्षा ९ मा अध्ययन गर्ने दिलिप महरले बताए । ‘साथिहरु कोहि पनि आएका छैनन् म पनि दुई दिन बसेर फर्किन्छु ।’ संकलन क्षेत्रमा भेटिएका महरले भने ।  दार्चुलाका ६ गाविसका ३६ पाटन क्षेत्रमा गत वर्ष झण्डै ३० देखि ३४ हजार संकलकहरु गएको अनुमान गरिएको भएपनि यो वर्ष संकलक परिचय पत्र बोकेर १४ हजार जति तथा व्यापारी र अन्य गरेर १५ हजार जना मात्रै यार्शा संकलन क्षेत्रमा गएको अनुमान अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सहायक संरक्षण अधिृकत पेम्वा शेर्पाले बताउनु भयो । ‘परिचय पत्र अनिवार्य गरिएपछि संकलकहरु घटेका हुन् ।’ उहाँले भन्नुभयो । 
 

सामाजिक संजाल

More

भिडियोहरु