News

दार्चुलाको मालिकार्जुन गाविस निर्दलिय गाविस घोषणा

दार्चुलाको मालिकार्जुन गाविस निर्दलिय गाविस घोषणा 
  • सबै दलका नेता, कार्यकर्ताबाट पार्टी परित्यागको घोषणा
   स्थानीय तहको पुनर्संरचनामा स्थानीय जनताको आवश्यकता, माग र भावना अनुसार सम्बोधन नभएको भन्दै दार्चुलाको मालिकार्जुन गाविसका सबै राजनीतिक दलका नेता, कार्यकर्ताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् । 
शनिवार मात्रै जिल्लामा राजनीतिक दलहरुको सहमतिमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले स्थानीय तहको संरचना निर्माण गरेको थियो । आइतवार मालिकार्जुन गाविसमा खुला कार्यक्रम गरी नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका सबै नेता, कार्यकर्ताले आआफ्नो पार्टी परित्यागको घोषणा गरेका छन् । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै सबै दलका नेता र कार्यकर्ताहरुले आफ्नो गाविसमा निर्दलिय भएको घोषणा समेत गरेका छन् । जनभावना अनुसार निर्णय र काम गर्न नसकेको र जिल्लास्तरमा दलका नेताहरुले आफ्नो क्षेत्रलाई उपेक्षा गरेको स्थानीय नेताहरुको आरोप छ । 
स्थानीय तह पुनर्संरचनामा जिल्लाको प्राविधिक सहयोग समितिबाट सुरुमा छलफल गरी सुझाव संकलन गरिएको खाकाअनुसार संरचना नबनाइएकोमा स्थानीय नेताहरुको आपत्ति रहेको छ । लेकम क्षेत्रका ग्वानी, मालिकार्जुन, भगवती, शंकरपुर र हुनैनाथ गाविसको क्षेत्र समेटेर एउटा गाँउपालिका बनाउन जिल्ला सहयोग समितिले प्रस्ताव गरेको थियो । तर राजनीतिक दलहरुले सुरुको प्रस्तावित संरचनाअनुसार स्थानीय तह नबनाउदा विरोध गरिएको छ । 
आइतवारको कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सदस्य श्यामराज विष्ट, काग्रेस जिल्ला सदस्य सुन्दरसिह धामी, माओवादी केन्द्रका जिल्ला सदस्य मोहनसिह धामीले पार्टी परित्यागको घोषणा गरेका छन् । यसैगरी, मालिकार्जुन गाविसस्थित काग्रेस गाँउ सभापति रुद्रसिह धामी, एमाले गाँउ कमिटी अध्यक्ष गणेशसिह धामी, जनशक्ति पार्टीका जिल्ला सदस्य सुविरसिह धामीले पार्टी परित्यागको घोषणा गर्दै मालिकार्जुनलाई निर्दलिय गाविस भएको घोषणा गरेका छन् । 
 
 
कार्यक्रममा एमाले मालिकार्जुन गाँउ कमिटीका सचिव सुरेन्द्रसिह धामी, उपसचिव चन्द्रसिह धामी, भगवती गाँउ कमिटी सचिव किशनसिह धामीले समेत पार्टी परित्यागको घोषणा गरेका छन् । 
स्थानीय तहको पुनर्संरचनामा मालिकार्जुन, भगवती र ग्वानी गाविसको क्षेत्रको माग, आवश्यकता र भावना सम्बोधन हुन नसकेको र राजनीतिक दलहरु मालिकार्जुन क्षेत्रकै अपमान गरेको स्थानीयको गुनासो छ । माओवादी केन्द्रनिकट शिक्षक नेता एवं स्थानीय वुद्धिजीवि जनकसिह धामीले सञ्चालन गर्नुभएको कार्यक्रममा मालिकार्जुन, भगवती, ग्वानी गाविसका सयौं स्थानीय वासिन्दाको सहभागिता रहेको थियो । 
 
मालिकार्जुनको कार्यक्रममा एमाले निकट पेशागत महासंघका जिल्ला अध्यक्ष प्रेमसिह धामीले भने राजनीतिक दल परित्याग नगर्न स्थानीय नेता, कार्यकर्ताहरुलाई सुझाव दिनुभएको थियो । ग्वानीसहितको मालिकार्जुन गाँउपालिकाको संरचनाका लागि खुलेर पहल नगरेका एमाले नेता मोहनसिह धामीले स्थानीयको माग पूरा नहुँदा दलत्याग गर्नु स्वाभाविक भएको बताउनुभयो । आफुले पनि जिल्लास्तरमा कार्यक्रम गरेर पार्टी परित्याग गर्ने उहाँले घोषणा गर्नुभएको छ । 
 
मालिकार्जुन क्षेत्रका वासिन्दाको माग ग्वानी गाविसको सम्पूर्ण भूगोलसहितको मालिकार्जुन गाँउपालिकाको निर्माण भए पनि एमाले नेता मोहनसिह धामीले मालिकार्जुन, भगवती, शंकरपुर, हुनैनाथ, डाडाकोट, उकु र दत्तू गाविससहितको मालिकार्जुन नगरपालिका हुनुपर्छ भन्ने अडान राख्दैआएका थिए । पछिल्लो समय आफ्नै पार्टी नेकपा एमाले मालिकार्जुन नगरपालिका नबनाएर गाँउपालिका बनाउन तयार भएपछि पूर्व जिल्ला कमिटी सचिव समेत रहनुभएका नेता मोहनसिह धामी विरोधमा उत्रिएका हुन् । 
 
त्यसैगरि दार्चुलाको हुति गाविसमा राज्य पुनः संरचना प्राविधिक सहयोग समितिले गरेको स्थानिय तहको सीमांकन प्रति हुतीबासीले पनि घोर विरोध जनाएका छन् । गाविस स्थितका विभिन्न राजनीतिक दलहरु तथा आम सर्वसाधारणको आज बसेको बैठकले दार्चुलामा गरिएको सीमांकन अबैज्ञानिक र मापदण्ड विपरीत भएको भन्दै कुनै पनि हालतमा हुती गाविस दुहु गाउँपालिकामा समाबेश गर्न नदिने निर्णय गरेको छ । साथै गाविस स्थितका सम्पुर्ण राजनीतिक दलका प्रतिनिधि तथा कार्यकर्ताहरुले आ–आफ्नो पार्टीबाट राजीनामा दिने र गाविसभित्र कुनै पनि राजनीतिक दलहरुलाई प्रबेश निषेध गरी स्वतन्त्र गाविस घोषणा गर्ने निर्णय गरेको नयाँ नेपाल सहकर्मी कपिलदेव भट्टले खबर पठाउनु भएको छ । त्यस्तै जिल्लाको राज्य पुनःसंरचना प्रति असन्तष्ट गाविसहरुसंग सहकार्य गरी थप आन्दोलन गर्ने निर्णय गरेका छन् ।
 

सामाजिक संजाल

More

भिडियोहरु