रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

श्रोता सन्देश

केहि क्षणमा

हिन्दी गीत

News

दुई गाँउपालिकाको जनसंख्या मापदण्डभन्दा कम

दुई गाँउपालिकाको जनसंख्या मापदण्डभन्दा कम

दार्चुलामा प्रस्तावित दुई गाँउपालिकाको जनसंख्या निर्धारित मापदण्डभन्दा कम रहेको छ । शनिवार मात्रै जिल्लास्थित राजनीतिक दलहरुको सहमतिमा पुनर्संरचना प्राविधिक सहयोग समितिले दुई नगरपालिका र ७ गाँउपालिकाको टुंगो लगाएको थियो ।  प्रस्तावित ७ गाँउपालिकामध्ये व्यास र अपि हिमालमा मापदण्डभन्दा कम जनसंख्या रहेको छ । स्थानीय तहको सीमा, क्षेत्र र संख्या निर्धारण सम्बन्धि आयोगले तोकेको मापदण्डअनुसार गाँउपालिकामा कम्तिमा १३ हजार जनसंख्या राख्नुपर्ने थियो । दुहुँ क्षेत्रमा पर्ने प्रस्तावित गाँउपालिकामा ७ हजार ७ सय ५३ जनसंख्या रहेको छ । व्यास, राप्ला, सुन्सेरा र धौलाकोट गाविसको क्षेत्र व्यास गाँउपालिकामा समेटिएको छ । यसैगरी, मार्माक्षेत्रको अपि हिमाल गाँउपालिकाको जनसंख्या ५ हजार ५ सय ४९ रहेको छ । अपि हिमाल गाँउपालिकामा घुसा र खण्डेश्वरी गाविसको सम्पूर्ण क्षेत्र तथा गुल्जर गाविसको वडा नम्बर १ को क्षेत्रलाई समेटिएको छ । 
भौगोलिक विकटता र राजनीतिक दलहरुबीचको सहमतिका आधारमा मापदण्ड अनुसार जनसंख्या नपुगे पनि गाँउपालिकाको संरचना बनाइएको प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी सहदेव रायमाझीले बताउनुभयो । 
दार्चुलाका राजनीतिक दलहरुले बझाङ जिल्लाको काडाँ गाँउपालिकाको उदाहरण दिदै मापदण्डभन्दा कम जनसंख्या भएका गाँउपालिकाको खाका बनाएका हुन् । बझाङको काडाँमा १ हजार ४ सय जनसंख्या हुँदा पनि गाँउपालिका बनाइएको राजनीतिक दलका नेताहरुको तर्क छ । 
यद्यपि मापदण्डभन्दा कम जनसंख्या भएका गाँउपालिकाको संरचना स्वीकृति हुने वा नहुनेबारे टुंगो लागेको छैन । 
मापदण्ड विपरित वडाहरुको जनसंख्यामा असमानता
शनिवार दार्चुलाको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले टुंगो लगाएको स्थानीय तहका वडाहरुको जनसंख्यामा मापदण्ड विपरित असमानता रहेको छ । जिल्लामा क्रियासिल राजनीतिक दलहरुको सहमति तयार गरिएको स्थानीय तहका वडाहरुको खाकामा एउटा वडाको जनसंख्या भन्दा अर्को वडाको जनसंख्या भन्दा ४ गुणासम्म बढी छ । आयोगको निर्धारित मापदण्डअनुसार गाँउपालिकामा एउटा वडामा २ हजार ६ सय जनसंख्या हुनुपर्ने हो । यसैगरी नगरपालिकाको एउटा वडामा २ हजार ८ सय जनसंख्या हुनुपर्ने मापदण्डमा उल्लेख छ । दार्चुलामा निर्माण भएका स्थानीय तहका वडाहरुको जनसंख्यामा भने ठूलो असमानता रहेको छ । आयोगको मापदण्डमा वडाहरुबीचको जनसंख्याको फरक १५ प्रतिशतभन्दा बढी नहुनु पर्ने हो । व्यास गाँउपालिकामा ५ सय ५६ जनसंख्याको वडा नम्बर १ व्यास छ भने त्यही गाँउपालिकामा २ हजार ७ सय ५५ जनसंख्या रहेको वडा नम्बर ४ सुन्सेरा छ । दुहुँ गाँउपालिकामा सबैभन्दा कम जनसंख्या भएको वडा नम्बर ४ ब्रह्मदेवमा १ हजार ७ सय ५२ जनसंख्या छ । दुहुँ गाउपालिकामा सबैभन्दा बढी जनसंख्या वडा नम्बर ३ हिकिलामा २ हजार ८ सय ५९ जनसंख्या छ । महाकाली नगरपालिकामा सबैभन्दा कम जनसंख्या वडा नम्बर ७ धापमा १ हजार ३ सय ५४ रहेको छ । नगरपालिकाको वडा नम्बर ७ धापको भन्दा तेब्बर बढी जनसंख्या रहेको वडा नम्बर ४ बंगाबगडमा ४ हजार २ सय ८२ जनसंख्या छ । मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ६ जौलजीविमा १ हजार ६ सय १३ जनसंख्या छ भने सबैभन्दा बढी जनसंख्या वडा नम्बर १ भगवतीमा ३ हजार १८ रहेको छ । लेकम गाँउपालिकामा भने अन्य स्थानीय तहको भन्दा बडाहरुको जनसंख्या अनुपात मिलेको छ । लेकम गाँउपालिकामा रहेको सबै वडाहरुमा न्युनतम २ हजार १ सय ६ देखि अधिकतम २ हजार ९ सय ७७ जनसंख्या भएका वडाहरु छन् । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ३ कर्कलेको जनसंख्या १ हजार ६ सय ५३ छ भने वडा नम्बर ७ गोकुलेश्वरमा सर्वाधिक ३ हजार ६ सय ६७ जनसंख्या रहेको छ । नौगाड गाँउपालिकाका ६ वटा वडाहरुमध्ये सर्वाधिक जनसंख्या वडा नम्बर ६ धुलिगडामा ३ हजार ९ सय २८ रहेको छ । वडा नम्बर ५ च्युरीबगरमा सबैभन्दा कम १ हजार ५ सय ४३ जनसंख्या रहेको छ । गाँउपालिकाकै जनसंख्या मापदण्डभन्दा कम रहेको अपि हिमाल गाँउपालिकामा सबैभन्दा बढी जनसंख्या वडा नम्बर ४ खण्डेश्वरीमा १ हजार ७ सय ७५ रहेको छ । वडा नम्बर १ सितीको जनसंख्या सबैभन्दा कम ६ सय ४९ रहेको छ । मार्मा गाँउपालिकामा सबैभन्दा कम जनसंख्या वडा नम्बर १ धङकङमा १ हजार २ सय ३० रहेको छ भने सर्वाधिक जनसंख्या वडा नम्बर २ जुडेमा ३ हजार ४ सय ६ रहेको छ । आयोगको मापदण्ड अनुसार एउटा स्थानीय तहभित्रका वडाहरुको जनसंख्यामा १५ प्रतिशत बढी अन्तर हुनुपर्दैन । तर दार्चुलाका ९ वटै स्थानीय तहका वडाहरुमा मापदण्ड विपरित जनसंख्या रहेको छ । एउटै गाँउपालिकामा तीनगुणा वा चारगुणासम्म बढी जनसंख्याको अन्तर रहेको छ । 
 

सामाजिक संजाल

More

भिडियोहरु