रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Oct 1817:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

मदन भण्डारी र उनका कवितोद्देश्य

पदम बडाल, 
मदन भण्डारीको संक्षिप्त परिचयः
नेपाली राजनीतिकवृत्तमा जनताको बहुदलीय जनवादको प्रारर्दुभाव गरी छुट्टै राजनीतिक छवि बनाएका ताप्लेजुङ्का युवा, मदन भण्डारीले संस्कृत साहित्यमा आचार्यसम्मको अध्ययन गरेको बाट पनि उनी साहित्यप्रति रुझान भएका व्यक्तित्व हुन् भन्ने सङ्केत गर्दछ । उनको संक्षिप्त परिचयलाई देहायअनुसार देखाउन सकिन्छः
जन्म, शिक्षा र मृत्युः 
बुबा देवीप्रशाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराका रुपमा बिक्रम सम्बत् (बि.स.) २००९ असार १४ गते शुक्रवार यो धर्तिमा पदार्पण गरेका भण्डारीको जन्मस्थान ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघु गाविसको ठोट्ने गाउँमा हो । बि.स. २०२४ सालसम्म ताप्लेजुङको सुबोधनी संस्कृत पाठशालामा कक्षा १० सम्म अध्ययन गरेका थिए । उनले १६ वर्षको उमेरमा एकै वर्षमा कक्षा ९ र १० को पढाइ पूरा गरेका थिए । त्यसपछि आफ्ना दाजु (मनोज भण्डारी) सँगै भारतको वृन्दावन गए र संस्कृत महाविद्यालयबाट उत्तरमध्यमा (आईए) २०२६ सालमा उत्तीण गरे । त्यसपछि उनले बनारस गएर विद्याश्रम महाविद्यालयमा भर्ना भई संस्कृत साहित्यमा आचार्य तहसम्मको अध्ययन पूरा गरे ।
विश्व राजनीतिक वृत्तमा समेत निक्कै चर्चा कमाएका भण्डारी नेपाली राजनीतिक क्षेत्रमा रहस्यमय मृत्यु व्यहोर्ने व्यक्तित्व पनि हुन् । बि.स. २०५० साल जेठ ३ गते दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा उनले आफ्नो इहलिला अन्त्य गरे । 
नामः
प्रत्येक व्यक्तिलाई उसको नामले चिनिन्छ । मदन भण्डारी पनि उनकै नामले चिनाइन्छ । तथापि उनको यो नाम, वास्तविक नाम तथा अन्य थुप्रै नामहरुको परिचर्चा गर्नु सान्दर्भिक देखिन्छ । सार्वजनिक रुपमा मदन भण्डारीका नामले परिचित मदन भण्डारीको न्वारनको नाम ‘मोतीराज भण्डारी’ हो भने उनलाई बालककालमा परिपार तथा छिमेकीमा ‘मोती’ नामले बोलाइन्थ्यो । उनले नेपाली नागरिकताको प्रमाण पत्र भने ‘मदनकुमार भण्डारी’ नामबाट लिएका थिए ।
२०२७ सालदेखि साहित्य लेखनमा सार्वजनिक रुपमा देखापरेका भण्डारीले सोही सयमदेखि राजनीतिक सक्रियता पनि बढाए र वास्तविक नामबाट गुमनाम भए । २०३० सालपछि उहाँ ‘श्वैतशार्दूल’,  ‘जीवन’, ‘भीष्म’, ‘संग्रामसिंह’, ‘राजमोती’, ‘बर्बरिक’, ‘मकुभ पखेली’, ‘अपसव्य’, ‘जीवन शर्मा’, ‘सागर’, र ‘प्रकाश’ नामले आफ्ना रचनाहरु सार्वजनिक गरिरहे । यसरी उनी प्रचलित नामका अलाबा अन्य दर्जनभन्दा बढी नामले साहित्यिक रचनामा सक्रिय थिए तथापि उनको सार्वजनिक र चर्चित नामका रुपमा ‘मदन भण्डारी’ नै पाइन्छ ।
 
साहित्य प्रवेशः
बनारसमा विभिन्न साहित्यिक तथा साँस्कृतिक समूहमा आवद्ध हुदै विविधखाले जिम्मेवारीको वहन कवि भण्डारीले गरेको इतिहाँस पाइन्छ । त्यसबेला बनारस साहित्य, संस्कृति, विद्या र प्रकाशनको केन्द्र रहेको थियो । नेपालमा प्रतिबन्धित कम्युनिष्ट पार्टीका गतिविधिहरुलाई साहित्य र साँस्कृतिक सङ्गठनहरुमार्फत सिर्जनात्मक, साहित्यिक तथा साँस्कृतिक आन्दोलनका रुपमा बनारसमा सक्रिय गराइएको थियो । यसै पृष्ठभूमिमा मदन भण्डारीले पनि आफ्नो साहित्यिक छवि प्रकाशमा ल्याए । उनले नेपाल छात्र परिषद् बाराणसीको साहित्यिक उपसमितिको ‘संयोजक’ एवम् त्यसको ‘मुखपत्र’ छात्रप्रभाको ‘प्रधानसम्पादक’का रुपमा रही साहित्यिक छविलाई विकास गरेको पाइन्छ ।
यसै सिलसिलामा २०२७ सालको मंसिरमा बनारसमा आयोजित बिचार गोष्ठिमा कवि भण्डारीले ‘ए मेरी बाटुलीका बुबा’ शीर्षकको गीति कविता सुनाए । यसैताका उनले ‘किसान र क्रान्ति’ शीर्षकको सानो खण्ड काव्य समेत रचना गरेको पाइन्छ । त्यसैगरी बि.स. २०२९ फागुन २८ गते बनारसमै युद्धप्रसाद मिश्रको अध्यक्षतामा भएको साहित्यिक गोष्ठिमा समस्यापूर्ति कविता प्रतियोगिता राखिएको थियो जसमा उनको ‘मित्र पो चिन्नुपर्छ’ शीर्षकको कविता प्रथम भएको थियो । 
यसरी अध्ययनको क्रममा बनारसमा रहँदा मदन भण्डारीले आफ्ना काव्य रचनाहरुलाई प्रकाशनमा ल्याएको देखिन्छ । राजनीतिक कार्यक्रमको व्यस्तताका कारण उनको सिर्जना काल २०३०÷२०३१ सम्म मात्रै रहेको देखिन्छ ।
भण्डारीका कविताः
मदन भण्डारीले रचना गरेका कविताहरुको सङ्ख्या हेर्दा जम्मा सातवटा मात्रै देखिन्छन् तथापि उनले भाषण र अन्तरवार्ताहरुमा प्रस्तुत गरेका कविताहरुसहितको सङ्ख्या हेर्ने पच्चिस र छवटा गीत छन् । उनका कविता, भाषण र अन्तरवार्ताहरुमा प्रस्तुत कविता र गीतहरु नम्नानुसार छन्ः 
कविता
छात्रप्रभाप्रति
मित्र पो चिन्नुपर्छ
लौ उत्र संघर्षमा
मेरी बाटुलीका बुबा
घाम छेक्दैन कुइरोले
यो देशको परम्परा बदल्न एकजुट होऊ
जिन्दगीको युद्ध मैदानमा
भाषण र अन्तरवार्ताहरुमा प्रस्तुत कबिता
घर यस्तो जीर्ण
मातेको सिंह
निराशा बिरोधमा
टाङमाथि टाङ
हाम्रा भगवान
एउटा मान्छे
अब आइन्दा
सभ्यता÷असभ्यता
चुनाव
इतिहास
महाराज हात नलम्काइबक्स्योस्
कम्युनिष्ट पार्टी
वाम एकता
राजनीति
हिलो र कमल
दरबार
टनकपुर
परिवर्तन
गीत
 गोरु फुकाओ हली हो
ए ! किसान
दिदी र बहिनीहरुलाई ...
जनताले माया गर्छ–गर्छ
सहिदको रगन सुक्दैन
ए ! जाऊँ क्यारे भर्ती ...
भण्डारीका कवितामा समाविष्ट केन्दीय कथ्यः
कविता तत्व
संरचनाका दृष्टिकोणबाट कवितालाई हेर्ने हो भने यसका लागि विभिन्न संरचक घटकहरु आवश्यक हुन्छन् । जसलाई कविताका तत्व पनि भनिन्छ । कविताका तत्वका रुपमा शीर्षक, लय विधान, केन्द्रीय कथ्य र भाव–बिचार, संरचना र आयाम, कथन पद्धति, भाषाशैली र विम्बालङ्कार मूख्य लिइन्छन् । कसैले यिनै तत्वहरुलाई भाव÷विचार, भाषाशैली, लय, शीर्षक, दृष्टिविन्दुका रुपमा लिएका छन् भने कसैले कविता तत्व, भाव वा अनुभूति, कल्पना, बुद्धितत्व, सङ्गीतात्मकता, संक्षिप्तता, वस्तु÷पात्र र भाषाका रुपमा पनि कविताका तत्वहरुलाई  लिइएको पाइन्छ ।
केन्द्रीय भाव÷कथ्यः
कविताको महत्वपूर्ण तत्वका रुपमा भाव÷विचार, केन्द्रीय कथ्य, भाव वा अनुभूति अथवा मूल सन्देशलाई लिइन्छ ।  यो तत्व जति संवेदनशील हुँदै गयो त्यति अनुभूति पूर्ण हुदै जान्छ । यसैका माध्यमबाट मानव मनका भावना वा वैचारिक दृष्टिकोण कवितामय भनौं भावमय भएर प्रकट हुन पुग्दछन् । जीवन जगत्को सेरोफेरो, मानव–चेतना, मानव मन र मानव जगत्का सारा अनुभव एवम् कार्यकलापको कथनको सारतत्व नै कविताको केन्द्रीय भाव हो । कवितामा मानव मनका भावना वा वैचारिक दृष्टिकोणको जे जस्तो अभिव्यक्ति भएको हुन्छ त्यही नै कविताको भाव विचार हो । 
मानव हृदयका प्रेम, उत्साह, क्रोध, घृणा, हाँस्य, शृङ्गारलाई कविले कविताका माध्यमबाट प्रकट गर्दछन् । यी भावका माध्यमबाट मानव जीवनलाई शिक्षा र सन्देश दिने प्रभावकारी माध्यम कविता हो र कविताको सारतत्व केन्द्रीय भाव वा विचार हो । प्रगतिवादी कविहरुले समानतमूलक समाज निर्माण, विसङ्गतिवादी कविहरुले विश्वमा भित्रिएका सामाजिक विसङ्गतिहरुको प्रस्तुति नै मूल भाव बनाएका हुन्छन् ।
भण्डारीको राजनीति र कविताको मूल भावः
मूलतः मदन भण्डारी कम्युनिष्ट राजनीतिका पात्र हुन् । उनको जनताको बहुदलीय जनवादी बिचार धार अहिले पनि नेपाली राजनीतिको एक प्रमुख शक्तिका रुपमा स्थापित छ । माक्र्सवादी बिचारधारबाट प्रेरित भण्डारीले उनकै मार्गदर्शनबाट चल्ने राजनीतिलाई नेपालीपन अनुसार सम्हालेको पाइन्छ । आफ्नो विचार स्थापित नहुँदै भएको भएको उनको मृत्युले धेरै कुराहरु अपुरा रहेको अथवा अन्य प्रश्नहरु गर्न सकिने अवस्थाको विश्लेषण गर्ने काम राजनीतिक विश्लेषकहरुको कार्यभार हुनेछ । तथापि माक्र्सवादी राजनीतिक विचारबाट प्रभावित मात्रै नभएर आफैले त्यस्तो राजनीतिक पार्टीको समेत नेतृत्व गरेको बाट पनि उनको राजनीतिक विचारबाट उनका कविताका सन्देशहरु, मूल भाव प्रभावित छन् भन्ने कुरा प्रमाणित हुन्छ । 
कम्युनिष्ट क्रान्ति, बिचार, सिद्धान्तबाट प्रेरित हुने मात्रै नभएर मौलिक कम्युनिष्ट सिद्धान्त (कसैले सम्झौतावादी, संशोधनवादी समेत भनेको) का प्रणेताका कविताहरुको मूल भावमा प्रगतिवादी अथवा माक्र्सवादी प्रभाव पाइनु स्वभाविक हो । उनका कविताहरुको मूल भावको चर्चा गर्नुभन्दा पहिले माक्र्सवादको समाजवादी दर्शनमा आधारित प्रगतिवादका प्रमुख साहित्यिक सिद्धान्त र मान्यताहरुका वारेमा बुझ्नु जरुरी छ । 
प्रगतिवादका प्रमुख साहित्यिक सिद्धान्त एवम् मान्यताहरुः
यसले आदर्शको बिरोध गर्दै द्वन्द्वात्मक भौतिकवादलाई अँगाल्छ,
यसले साहित्यका अन्य तत्वभन्दा सामाजिक सम्बन्धका तत्वलाई बढी महत्व दिन्छ,
यसले मावन हित, मानव कल्याण र वर्गहीन तथा शोषणरहित समाजको अनिवार्यता देखाउँदै साहित्यमा लोकमङ्गल प्रयोजनलाई शीर्षस्थान दिन्छ,
यसले आनन्दवादी मूल्यका ठाउँमा भौतिक उपयोगितावादी मूल्यलाई महत्व दिन्छ र यसलाई साहित्यको सार्थकता मान्छ,
यसले साहित्य, व्यक्ति र समाजको घनिष्ट सम्बन्ध कायम गरी तिनका बीच समझदारीपूर्वक सौहार्द सम्बन्ध स्थापित गर्दछ,
यसले युग सङ्घर्षको चित्रण नियतिका बिरुद्ध निरुद्देश्य नभई सोद्देश्य सङ्घर्षका रुपमा हुनुपर्छ भन्ने मान्छ,
यसले समाज व्यवस्थालाई बदल्नु र शोषणहीन समाजको निर्माणमा सहयोग गर्नु साहित्यको हेतु ठान्छ,
यसले अन्याय तथा शोषणरहित भविष्यप्रति पूर्ण आशा, आस्था र विश्वास राख्छ,
यसले जाति, वर्ग, वर्ण व्यवस्थ वा कुनै प्रकारको सीमित मतवादबाट मुक्त भई विश्व मानवताको कल्याणको कामना गर्दछ ।
भण्डारीका कविताहरुको मूल भावः
छात्रप्रभाप्रतिः
बाराणसीमा नेपाली प्रगतिशील युवाहरुले नेपाल छात्र परिषद् नामक साहित्यिक परिषद्को निर्माण गरे । सँगै त्यो परिषद्ले मुखपत्रको रुपमा ‘छात्रप्रभा’को प्रकाशन गर्ने जमर्को गर्यो । सोही पत्रिकारको प्रधानसम्पादकका रुपमा मदन भण्डारीको ‘छात्रप्रभाप्रति’ शीर्षकको कविता सम्पादकीयका रुपमा प्रकाशन भएको देखिन्छ ।
शार्दुलबिक्रिडित छन्दमा छ अनुच्छेदमा संरचित उक्त कवितामा बाह्र श्लोकहरु छन् । यसमा छात्रप्रभाको प्रशाशनको औचित्य मात्रै नभएर सङ्घर्षका लागि आह्वान समेत गरेको पाइन्छ । नेपालभित्र चलिरहेको राजनीतिक दमनप्रति बिरोध गर्दै छात्रप्रभावको लागि भण्डारी लेख्छन्–
‘नेपाली दिलभित्रका दमनको बेथा खुला लेखियो
मान्छे हो ! सुन यै व्यथा प्रगतिको साहित्यको स्रोत हो ।’ 
‘......
निस्के पत्थर गोलि क्यै बम बने सङ्गीन भाला बने
यै औजार लिएर निस्कन सक्यो यो पत्रिका यत्नले ।’
यसरी छात्रप्रभा प्रकाशनको औचित्य र प्रयासका वारेमा लेखेका भण्डारीले यसै कविता मार्फत केही सयम पहिले (कविता लेखिनु पूर्व) का नेतारुले बुद्धि नपुर्याउँदा धेरैले क्रान्तिबाट भाग्नु परेको, सुत्नु परेको, मर्नु परेको र मौन रहनु परेको कुरा उल्लेख गर्दै चुनौतीको सामाना गर्न छात्र जमात निर्धक्कसाथ अगाडि बढ्ने तयार रहेको बताएका छन् ।
छात्रप्रभाले बम पट्केझै पट्कनु पर्ने र निर्धा जनताहरुमा, झोपडीमा बस्ने किसानहरुमा उत्साह बढाउनु पर्ने बताउँदै कवि भण्डारी कपटी पञ्चायत राज्य व्यवस्थाको वास्तविकता उदाङ्गो बताउनु पर्ने चेतनाको प्रभाव नेपाली दिलभित्र ल्याउन आह्वान गर्दै लेख्छन्–
‘जाऊ छात्रप्रभा लिएर बम यो टङ्कारिई पड्किद्यौ
निर्धा झोपडिका किसान जनका उत्साहका साथ हौ ।
यो पञ्चायति राजको कपटको घुम्टो उदाङ्ग्याइद्यौ
नेपाली दिलभित्रको मुलुकमा यै चेतना ल्याइद्यौ ।’
यसरी पञ्चायतकालीन राज्य व्यवस्थाको बिरोध गर्दै निर्धा तथा झोपडिमा बस्ने किसानहरुलाई समेत क्रान्तिका लागि जागृत गराउने मूल उद्देश्यका साथ यो कविताको रचना गरेको पाइन्छ । तत्कालीन राज्यव्यवस्थाप्रति बिरोध जनाउँदै सर्वहारा वर्ग (किसान) को पक्षमा वकालत गरी राज्य व्यवस्था परिवर्तनको सङ्खघोष गर्नु यो कविताको मूलभाव देखिन्छ ।
मित्र पो चिन्नुपर्छः
‘गर्जन्छन् जो महलहरुमा क्रान्तिनेता सिकारी
बज्रन्छन् ती गरिबतिर नै भिन्न सङ्घर्ष पारी
तिन्कै लागे अघिपछि उता, बज्रिने बज्रमुक्का
बज्रेला त्यो अबुझ नभए मित्र पो चिन्नुपर्छ ।’
क्रान्तिको बाटोमा हिड्दा अनिवार्य रुपमा मित्र शक्तिहरुलाई चिन्नु पर्ने भावका साथ लेखिएको यो कवितामा यी पङ्तिहरुले भने झैं महलहरुका नेताहरु गरिब मार्ने सिकारी हुन्, उनीहरु सङ्घर्षका नाममा गरिबलाई नै पीडा दिने काम गर्दछन् । सम्पन्नतामा बाँचेकाहरुले सर्वहारा क्रान्तिको नेतृत् वगर्न सक्दैनन् । यस्ता प्रवृत्तिहरुलाई चिन्न नसके घोका हुने हुँदा सङ्घर्षमा शत्रु शक्ति र मित्र शक्तिबिचको भिन्नता पहिल्याउनु पर्ने, मित्रलाई चिन्नु पर्ने सन्देश यो कवितामा पाइन्छ ।
मिठा बाणीका माध्यमबाट मन जित्ने प्रयास गर्ने, सहयोगका नाममा कृषकहरुको काट्टो खान जाने, सामन्तका चतुर सन्ताहरुलाई समेत चिन्नु पर्ने भाव यस कवितामा पाइन्छ । सामन्तहरु कुनै पनि अवस्थामा मित्र हुन नसक्ने तर उनीहरु कुनै न कुनै बाहाना बनाएर स्वार्थ लुकाउदै सर्वहाराको नेतृत्वसम्म पनि पुग्ने गरेको उल्लेख गर्दै गरीबसँगै जन्मेका, हुर्केका, कृषक कै सन्तान क्रान्तिका लागि उपयुक्त हुने भनाइ यो कवितामा पाइन्छ । कवि भण्डारीले यस कवितामा सङ्घर्षका लागि कृषकहरुलाई नै सहयोद्धा बनाउनु पर्ने प्रष्ट विचार व्यक्त गरेका छन् ।
यो कवितामा भण्डारीले समाजमा सधैं व्यस्त रहने, हुल्लडबाज, व्यर्थ समय खेर फाल्ने, प्रगति चाहाने आदि विभिन्न प्रवृत्तिमा मानिसहरु रहने र तिनीहरुमध्ये आफ्ना मित्रहरु को को हुन सक्छन् ? भन्ने कुरा जान्न सक्नु पर्ने सन्देश दिएका छन् भने समग्र युवाहरुले क्रान्तिकै चर्चा गर्ने गरेको, उनीहरु आइपर्दा क्रान्तिका लागि ज्यानै दिन पनि तयार भएकोले आफ्नै वनपाखाको अमृतलाई पहिचान गरी क्रान्ति अगाडि बढाउनु पर्ने सन्देश यो कवितामा पाइन्छ ।
क्रान्तिका लागि सहयोगी र मित्र शक्ति अनिवार्य रहेकोले हरेकले आफ्ना मित्रहरुलाई चिन्नु पर्ने तथा सामन्तहरु र उनका सन्तान कहिल्यै पनि क्रान्तिका सहयात्री हुन नसक्ने सन्देश यो कविताले दिएको छ ।
लौ उत्र सङ्घर्षमाः 
यो कविता सोझो रुपमा गरीबको रगत चुसी बाँचको, पैंसे मित्र र लँगौटिया, भारौटेहरुको भरमा राज्यसत्ता सञ्चालन गर्ने राजाका बिरुद्धमा लेखिएको कविता हो । यस कवितामा सामन्तहरु किसानहरुको आर्जनमा बाँच्ने, किसानका कलिला शिशुहरु खाने खुङ्कार भएकोले किसानहरु एक भएर सामन्तहरुलाई टुक्य्राउनु पर्ने बिचार व्यक्त गरेर्दै लेख्छन्–
‘तिम्रो आर्जन जो किसानहरु हो ! लाने यि सामन्त हुन्
मासु जो कलिला गरीब शिशुका खाने यि खुङ्खार हुन् ।
आफू एक बनी किसान दुनियाँ सामन्त एकातिर
पारी छक्छक टुक्टुक्याउनु पर्यो लौ उत्र सङ्भघर्षमा ।’
क्रान्ति कुनै भोज भतेर नभएको भन्दै क्रान्तिका लागि किसानलाई लत्याउनु र सामन्तलाई निम्त्याउनु हुन्न भन्दै क्रान्ति पुत्रहरुले महलबाट (राज्यसत्ताबाट, राजतन्त्रबाट) केही आउला (जनपक्षीय कुरा, ऐन, व्यवस्था) भन्ने आशा गर्न हुन्न भन्ने सन्देश दिएका छन् । यही कवितामा राजा, उनका भरौटेहरुलाई राज्यसत्ता उनीहरुको ससुराली नभएको, उनीहरुको बिर्ता नभएको कुरा यसरी तीक्ष्ण रुपमा कवितमा प्रस्तुत गरेका छन्–
‘राजाका गुणगानमा लुकिलुकी बाँच्ने भरौटे जुनी
यो तिम्रो ससुराल हैन न त हो बिर्ता न हो मावली ।
हुल्लीहुल्ली यहाँ अझै कति चलोस् त्यो हुल्लिको खिल्लिमा
छिल्लीबिल्लि बनाउँछौँ दम भए लौ उत्र सङघर्षमा ।’
सामन्तहरुको नकाब खुस्किसकेकाले मपाईं भन्ने सामन्तहरुलाई, बिना लाज पैसा ठग्ने, बाहाना बनाउने दलालहरुलाई सङ्घर्षमा उत्रन आह्वान गरेका छन् ।
यसरी तीक्ष्ण भाषामा सामन्तहरुलाई लल्कार्दै राजा र राजाका भरौटे, सामन्तहरुलाई सङ्घर्षका लागि चुनौती दिने र किसानहरुलाई सङ्घर्षका लागि आह्वान गर्ने मूल भाव यो कवितामा पाइन्छ । 
मेरी बाटुलीको बुबाः
‘सबै भन्छन् हिजोआज यहाँ औधी गाह्रो छ 
ठूलाठालू मजा गर्छन् मसिना ज्यूनै गाह्रो छ ।’
बटुलीकि आमाले बाटुलीका बुबालाई लेखेको पत्रशैलीको यो कवितामा तत्कालीन समयमा ठूलाठालूहरुले गर्ने शोषण र उनीहरुको शासनले जनतालाई पारेको प्रभावका वारेमा उल्लेख गर्दै लडाईंमा मुग्लान गएका युवाहरुको खाँचो देशलाई भएको कुरा व्यक्त गरेका छन् । देशमा विद्यमान विभेद, शोषण, असमानता र शोषणलाई थाति राखेर मुग्लान गएका युवाहरुलाई सम्बोधन गर्ने यो कवितामा ती सबै विभेद, अन्याय, असमानता र शोषणलाई अन्त्य गर्न युवाहरुको तातो रगतको खाँचो भएको कुरालाई यो कविताले मूल भावका रुपमा अङ्गिकार गरेको देखिन्छ ।
झुप्रामा दियोसमेत नदिने कालो राजमा धनिमानीको मात्रै बोलवाला रहेको, निर्धाका चिहानमाथि पञ्चायती राजाले शासन गरेको, किसानका दिदीबहिनीलाई कुचो लगाउने (दास) बनाएर सामन्तहरुले दरवार, अफिस, स्कुलमा रजाई गरेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनु पर्ने विषयवस्तु यस कवितामा पाइन्छ ।
किसानका बालबालिकाहरुको बेहाल भएको बेला, धनिहरुको काम गर्दागर्दा रगत मासु सकिएको तर भोक कम नभएको बेला, घामछायाँ पानीबाट ओत लाग्ने ठाउँ समेत नभएको बेला मुग्लाने भर्तिमा पिर्ति बस्यो वा  बिर्सियौं भन्दै बाटुलीकि आमाले यो देशको माटोलाई साझा माटो बनाउन सङ्घर्षको वेदीमा बाटुलीको बुबाको तातो रगत आवश्यक भएको बताएकि छिन् ।
‘सधैं भर्ती, उतै पिर्ती गरी बिस्र्यौ कि यो ठाउँ
रिसायौं वा घिनायौं वा अरु, प्यारा म के जानु
...
यहाँ खाँचो छ त्यो तातो रगत सङ्घर्ष वेदीमा
यहाँ यो देशको माटो नभै साझा हुँदै हुन्न ।’
अन्त्यानुप्रासको अभाव देखिने यो कवितामा मुग्लानी हुनुभन्दा पनि नेपाल र नेपालीको स्वतन्त्रताका लागि, तमामखाले विभेद, शोषण, अन्याय र अत्याचारका बिरुद्धमा लड्नु पर्ने सन्देश पाइन्छ ।
घाम छेक्दैन कुइरोलेः
आशावादी विचार भावलाई केन्द्रीय तत्व बनाउँदै लेखिएको देखिन्छ यो कविता । वर्षौ असमानताका बिच, शोषण, दमन, अन्याय, अत्याचारका बिच जीवन बिते पनि चाडैनै किसानका सपना पूरा हुने, निर्धा नागरिकका आङमा पनि घाम लाग्ने आशावादी बिचार यो कवितामा पाइन्छ । यसले तत्कालीन क्रान्तिले चाँडै सफलता पाउनेतिर समेत सङ्केत गरेको छ ।
कविताको पहिलो श्लोकमा– 
‘ए ए किसान हो ! हेर लाली आकाशमा चढ्यो
नेपालीहरुको भाग्य आवश्यै झुल्कने भयो ।’
भनिएबाट पनि यो कविता किसानमा आशाका किरण जगाउन लेखिएको भन्ने प्रष्ट हुन्छ । कयौं बर्खाहरु भोकभोकै काटे पनि अबको बर्खा अरु बर्खाहरु झै नबित्ने सङ्केत गर्दै कवितामा हिमालपारीका डाडापाखामा रातो घाम लागेर सुकिलो भएको कुरालाई देखाएर नेपाली क्रान्तिको सफलताका सङ्कते दिएका छन् ।
‘हामी जस्तै हलो जोत्ने झुत्रे झाम्रेहरु पनि
राम्रा सिपालु भै जम्मै जेहेन्दार बने अरे
हामी मात्रै सधैं कस्तो कालमा कँजिई रहौं
सामन्तीहरुको थोरै ज्यालामा जोतिई रहौं ।’
कविताका यी पङ्तिहरुले भने झैं संसारमा परिवर्तनहरु भइ सके, संसारका धेरै देशमा निर्धा, गरिब, सर्वहाराहरुका सङ्घर्षले सफलता हाँसिल गरिसकेको अवस्थामा हामी अझै कतिञ्जेल सामन्तिहरुबाट जोतिई रहने ? भन्ने प्रश्न गर्दै सामन्ति दासताबाट मुक्त हुन आह्वान गरिएको छ । त्यसैगरी ‘घाम लाग्नेछ भोलि त निर्धाको भाग्य पनि, उज्यालाभरि जोतौँला खनौँला खाउँला बसी’ भन्दै सुनिश्चित परिवर्तनकामी भविष्यप्रति दृढ विश्वास व्यक्त गरेका छन् ।
कवितामा रात, साँझ, हिलो, बर्खा, घाम, पानी नभनेर जोतिएका किसानहरुका खर्परहरुमा घाम पर्नबाट न सामन्तिका चाम्रा चाम्रा खप्परले छेक्छन् न घामलाई कुहिरोले नै छेक्न सक्छ भन्ने सन्देश व्याप्त छ । सधैं सामन्तिको लागि काम गर्नु पर्ने, जोतिनु पर्ने जीवनहरुमा अँध्यारो नै अँध्यारो हुदैन । उनीहरुको जीवनमा क्रान्तिले नै परिवर्तन ल्याइ छोड्छ । परिवर्तनकामी समय आए, त्यो परिवर्तनलाई कुनै किसिमका बाधाहरुले पनि छेक्न सक्दैन भन्दै क्रान्तिको सफलताको समेत सङ्केत यो कवितामा व्याप्त छ ।
यो देशको परम्पार बदल्न एकजुट होऊ !
शीर्षकले भने जस्तै यो कवितामा तत्कालीन समयमा विद्यमान राज्यपरम्परालाई बदल्नका लागि हरेक वर्ग, क्षेत्र, भुगोलका गरिब र धर्तिपुत्रहरुलाई एकजुट हुन आह्वान गरिएको छ । सङ्घर्षका लागि एकजुट हुनु अनिवार्य छ, क्रान्तिलाई सफल पार्न निम्न वर्गको सुषुप्ततालाई जगाउनु अनिवार्य छ, त्यसका लागि पहाड, मधेशका सम्पूर्ण सर्वहारा कर्मवीरहरुले मुक्तिको गीत गाउँदै परम्पार बदल्नका लागि जुट्नु अनिवार्य छ भन्दै सर्वहारा वर्गको एकताका लागि, एकताको सन्देश बोकेको कविता हो यो ।
‘नाङ्गियुन् यी धर्मका गरिब शोसने कथा
नासियुन् समाजका कमाइ खोसने प्रथा
एकता भए यहाँ नसुध्रिने छ कुन दशा ?
देखिनेछ सामूमा समाजवादको दिशा ।’
‘दुःखको सागर गिरोस् कि मृत्यु सामुमा परोस्
कि जेलनेल गोलिको असह्य यातना परोस्
लक्ष्यमा अडिरहे क्रान्तिमा बढिरहे
एकता बिनरहे अवश्य मुक्ति मिल्छ हे !’
यसरी यो कवितामा शोसक, सामन्तहरुको राज्यसत्ताको समाप्ति र सर्वहाराको राज्यसत्ता प्राप्तिका लागि समाजवादको बाटोमा लाग्नु पर्ने सन्देश दिएको छ । त्यसैगरी जेजस्तो अवस्थाको सामना गर्नु परे पनि क्रान्तिको लक्ष्यमा दृढताका साथ उभिने हो भने, सर्वहारा वर्गको एकता कायम रहने हो भने एक दिन पक्कै पनि मुक्ति पाइने सन्देश यो कवितामा पाइन्छ ।
गरिब, सर्वहारा, मजदुर वर्गलाई धर्तिका सपूत, प्रचण्ड शक्ति समूह, बिहान सिर्जने सशक्त ज्योतिपुञ्जको रुपमा चित्रण गर्दै राज्यसत्ता परिवर्तनको लागि एकजुट भई सङ्घर्ष गर्न आह्वान गर्ने सन्देश यो कविताले बोकेको छ ।
जिन्दगीको युद्ध मैदानमाः 
छन्दका कविता लेख्ने मदन भण्डारीको यो गद्य कविता हो । जब बौद्धिक वर्गले क्रान्तिमा भाग लिन्छन् तब हरके अवरोधहरु, शक्तिहरु भाँचिने र जीवनहरु विजयको शिखरमा पुग्ने सन्देश यो कवितामा पाइन्छ ।
‘....
लक्ष्यबिन्दुको अवरोधलाई कुल्ची छाड्छन्
प्रतिगामी र यथास्थितिवादी अङ्कुसेहरु 
भाँचि छाड्छन्
छलकपटरहित
निडर
र नियत नबाङ्गिएकाहरु
अनिवार्य रुपमा 
विजयको शिखरमा पुगी छाड्छन् ।’
छोटो प्रवाहमय सशक्त शक्ति बोकेको यो गद्य कविताले सक्रिय मन मस्तिष्कहरु (प्राज्ञ, विद्वान) लाई क्रान्तिको सहयात्राका लागि आह्वान गरेका छन् । मुक्ति युद्धमा सक्रिय मन मस्तिष्कहरु चाहे अँध्यारा कोठामा बसेका हुन्, पर्खालले घेरिएका हुन् वा मैदानमा गोलाबारुदसँग लुकामारी खेलिरहेका हुन् तिनीहरु लक्ष्यबिन्दुका अबरोधहरुलाई कुल्चिएर अगाडि बढ्ने दृढ विश्वास र सन्देश यो कविताले वहन गरेको छ ।
मूलभावमा प्रगतिवादः
निसन्देह, माक्र्सवादी विचारबाट प्रभावित चर्चित नेपाली राजनीतिज्ञका कविताहरुको मूलभावमा प्रगतिवाद पाइनु स्वभाविक हो । तथापि उनका कविताहरुमा तीक्ष्ण बिरोध, वर्गीय एताको आह्वान र सुनिश्चित भविष्यप्रतिको दृढ विस्वासलाई अन्य प्रगतिवादी भावमयका कविताहरु भन्दा माथिल्लो तहका प्रगतिवादी कविताको रुपमा स्थापित गरेको पाइन्छ । सङ्गठन निर्माण, सुदृढीकरण, आफ्ना योजना र क्रान्तिप्रति प्रगाढ विश्वासको वातावरण सिर्जना गर्न मात्रै नभएर त्यो क्रान्तिलाई सफल पार्न चाहिने आवश्यक वर्गीय शक्ति र सचेत सक्रिय मन मस्तिष्कहरु साथको पनि आवश्यकतालाई अपरिहार्य ठहर्याउन उनका कविता सफल देखिएका छन् । त्यसैगरी स्वार्थी, सत्तालिप्सता र ढोगी प्रवृत्तिलाई समेत निस्तेज पार्दै क्रान्तिको तेजलाई प्रवल बनाउन उनका कविता सशक्त देखिन्छन् ।
प्रगतिवादी कविताहरुमा स्तुतिवादी आध्यात्मिक चिन्तनबाट माथि उठेर कविहरु शोषण, दमन, अन्याय, अत्याचारका बिरुद्ध दृढ भएर उभिन आह्वान गरिनु र शोषक र शोषितबिचको वर्गविभेदको चिरफार गर्ने गरिन्छ । यस्ता प्रवृत्तिका कविताहरुमा समाजमा रहेको शोषण, दमन, भेदभाव जस्ता वेथितिहरुको अन्त्य गरी समतामुलक समाजको निर्माण गर्नु पर्ने द्येय पाइन्छ भने झै कवि भण्डारीका कविताहरुमा योभन्दा पनि माथि उठेर वर्गी सङ्गठन निर्माण गरी सङ्गठित रुपमा सामन्तका विरुद्धमा उभिनु पर्ने आसय पाइन्छ । त्यसैगरी वर्गीय सङ्घर्षमा मित्र शक्ति र शत्रुशक्तिहरुको पहिचान अनिवार्य हुनु पर्ने भन्दै प्रष्ट राजनीतिक कुटनीति समेत कवितामा प्रवेश गराएका छन् । यसरी उनका कविताहरुको मूलभाव प्रगतिवादी प्रवृत्ति कै रहेको भए पनि कवितामा कुटनीतिक चातुर्य पनि व्याप्त पाइन्छ ।
लेखक दार्चुला सन्देश दैनिकका सम्पादक,र दार्चुला बहुमुखि क्याम्पसका सहायक प्राध्यापक हुन्
 

सामाजिक संजाल

More

भिडियोहरु